४ वर्षमा अन्जुको प्रगति : १ लाखको व्यवसायबाट ३ तले पक्की घर

तनहुँ । ३ वटा सन्तानकी आमा अन्जु थापा श्रेष्ठलाई दैनिकी चलाउन गाह्रो थियो । घर–व्यवहार चलाउन निकै कठिन भएपछि पशुपालनमा लागेकी अन्जुको जीवन अहिले लोभलाग्दो छ । हामी डुम्रे स्थित उनको निजी निवासमा पुग्दा उनका गोठभरी गाई थिए । श्रीमान्ले गाईलाई पराल दिइरहेका थिए । गाई पालनबाट मनग्य आम्दानी गरिरहेकी अन्जु विगतका दिनहरूलाई सम्झँदा गहभरी आँशु बनाउँछिन् ।

५ वटा गाईपालनबाट आफ्नो व्यवसाय सुरु गरेकी अन्जुका गोठमा अहिले २७ वटा दुहुना गाई छन् । ‘मैले बच्चा सानै छँदा दुःख गरेर भेटनरी पढेँ । त्यति बेला सिकेको ज्ञान अहिले काम लागेको छ,’ अन्जु भन्छिन्, ‘त्यसैको आम्दानीबाट अहिले छोराछोरी पढाइरहेकी छु । जसका लागि सबैको लघुवित्तबाट कर्जा लिएर मैले व्यवसाय विस्तार गरेकी हुँ ।’

डुम्रे, तनहुँ स्थित ‘सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड’ शाखाबाट १ लाख रुपैयाँ ऋण लिएर उनले गाईको संख्या बढाएकी हुन् । पहिला उनले ४ वटा गाईबाट व्यवसाय सुरु गरिन् भने अहिले उनीले २७ वटा गाई पालिरहेकी छिन् ।
सुरुमा १ लाख ऋण लिएकी उनले अहिले सोही लघुवित्तबाट ३ लाख ऋण लिएकी छिन् । लघुवित्तमा आवद्ध भएपछि श्रेष्ठले मासिक ५ सय रुपैयाँ पनि बचत गर्दै आएकी छिन् । मासिक किस्ता तिर्न कुनै कठिनाई छैन । सोही व्यवसायबाट उनले घर व्यवहार चलाएर ३ तले पक्की घर बनाएकी छिन् । ४ वर्षमै उनले यो प्रगति गरेकी हुन् ।

हाल गाई पालनबाट मात्रै उनले मासिक डेढ लाखभन्दा बढीको आम्दानी गर्छिन् । ‘अहिले गाईले दैनिक करिब ९० लिटर दुध दिन्छ । मैले नेपाल दुग्ध विकास संस्थान, डुम्रे शाखामा बेचेर मानिस १ लाख ६५ हजार आम्दानी गर्छु,’ उनले भनिन् ।
गाई पालनबाट राम्रो आम्दानी भएपछि अन्जुका श्रीमान् पनि वैदेशिक रोजगारी छाडेर गाईपालनमा नै सघाइरहेका छन् । परिवारसँग छुटिनु पनि नपर्ने, साथमा बसेर खुसीसाथ व्यवसाय गरेकी अन्जुले १ लाख लगानीबाट सुरु गरेको व्यवसाय अहिले बढेर २५ लाख पुगेको उनी बताउँछिन् ।

अन्जुकी देउरानी संगितालाई पनि सफल व्यवसायी बन्न मन छ । व्यवसाय सुरु गर्न अन्जुले नै संगीतालाई सहयोग गरिरहेकी हुन् । संगिताले पनि भर्खर गाई पालन सुरु गरेकी छिन् । अन्जुको प्रगति त्यतिमै मात्र सीमित रहेन । उनले व्यवसायका साथसाथै आफ्नो क्षमता पनि बढाइन् । जसको श्रेय उनी लघुवित्तलाई दिन्छिन् । ‘लघुवित्तले हामीलाई समय–समयमा विभिन्न सिप तथा क्षमता विकास तालिम दिनुका साथै व्यक्तित्व विकासमा पनि सहयोग गरेको छ,’ उनले हाम्रोअर्थसँग भनिन् ‘अहिले म सुखी र खुसी छु । यो सबै खुसी मलाई सबैको लघुवित्तले दिएको हो ।’

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै हजारौ महिलाहरूले सबैको लघुवित्तबाट सेवा लिएर आफ्नो जीवनमा आमूल परिवर्तन ल्याउन सफल भएका छन् । जसको अर्को उदाहरण हो, भानु नगरपालिका, मूलाबारी बगैँचाकी कमला श्रेष्ठ ।

५४ वर्षकी कमलाले आफ्नो जीवनमा धेरै उतारचढाव भोगेकी छिन् । दुई छोरा र दुई छोरीको पढाइ उनले एक्लै थेगिन् । घरखर्च धान्न कुनै उपाय नदेखेकी उनले साथीको सल्लाहमा चटपटे पसल खोलिन् । यो समय उनको जीवन परिवर्तन गर्ने एउटा सुनौलो मोड बन्यो ।

स्थानीय चुनावको समय उनी र उनकी साथी नजिकैको थानीमाईको मन्दिर अगाडी चटपटे बेच्थे । त्यसबाट कमाइ हुने देखेपछि उनले गाउँमै सटर भाडामा लिएर चटपटेका साथै खाजाको व्यवसाय सुरु गरेको उनी बताउँछिन् । ‘सबैको मूलाबारी लघुवित्त केन्द्र ५६’ की अध्यक्ष समेत रहेकी कमलाले सुरुमा १० हजार ऋण लिएर व्यवसाय सुरु गरेकी हुन् । अहिले उनको पसलमा खाजा मात्र नभइ अन्य किराना सामान समेत उपलब्घ छ । जसले गाउँमा मानिसलाई केही हदसम्म सजिलो भएको उनी बताउँछिन् ।

त्यतिमात्र होइन, उनको पसलमा अहिले एकैपटमा ३० जनासम्मलाई खाना तथा खाजा खुवाउने व्यवस्था उपलब्ध छ । ‘सुरुमा सबैको लघुवित्तबाट ८० हजार ऋण लिएर सटर भाडामा लिनुका साथै अन्य किरानाका सामान पनि थपेँ । अहिले राम्रै आम्दानी हुन्छ । सहजै किस्ता तिर्न सक्छु,’ उनले भनिन् ‘व्यवसाय सुरु गर्दा मसँग एउटा थाल समेत थिएन । अहिले एकैपटक ३० जनालाईसम्म खाजा खुवाउन सक्छु ।’

उनी केन्द्रको अध्यक्ष भएकाले व्यवसायलाई पर्याप्त समय दिन नसकेको उनी बताउँछिन् । ‘अध्यक्ष भएपछि केन्द्रकै कामले हिँडिरहनु पर्छ । समय नै दिन सकेको छैन । नत्र दैनिक ५ देखि ७ हजार सम्म आम्दानी हुन्छ,’ कमलाले भक्कानिदै भनिन्, ‘घरपरिवारले मलाई हेरेनन तर लघुवित्तले दिएको ऋणले मेरो व्यवसाय बढ्यो, ४ वटा छोराछोरीलाई लेखाइ पढाई गरिरहेकी छु, म खुसी छु, अरु दिदिबहिनीले पनि आफ्नै व्यवसाय गर्नुपर्छ, मेरो जीवनबाट उहाँहरूले सिक्नु पर्छ ।’

कमलाकी भाउजु शारदा श्रेष्ठले पनि केराखेती गर्दै आइरहेकी छिन् । उनले पनि सबै लघुवित्तको ऋणबाटै केरा खेती सुरु गरेकी हुन् । तर, उनलाई बजार नपाएकोमा भने चिन्ता छ । ‘यतातिर केराखेतीमा राम्रो आम्दानी छैन । बरु लोकल कुखुराबाटै फाइदा हुन्छ,’ उनले हाम्रोअर्थसँग भनिन् ।

अन्जु, कमला र शारदा लगायत ७३ हजारभन्दा बढीले सबैको लघुवित्तबाट सेवा लिइरहेका छन् । त्यसमध्ये डुम्रे शाखामा मात्रै १ सय ४३ केन्द्र रहेका छन् । यसमा आवद्ध भएर धेरै महिलाहरूले व्यवसाय सञ्चालन गर्नुका साथै आफ्नो जीवनस्तर समेत उकासेको लघुवित्तका नायव महाप्रवन्धक पवन श्रेष्ठ बताउँछन् । ‘हामीले ४३ हजार ४६६ सदस्यलाई व्यवसाय गर्न कर्जा प्रवाह गरेका छौँ । ऋण उपभोग गर्नेमा महिला बढी हुनुहुन्छ,’ उनले हाम्रोअर्थसँग भने ।

२०७४ साल असार २५ गते नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको सबैको लघुवित्तमा ३ सय ५५ जना कर्मचारी रहेका छन् । छोटो समयमै ४४ जिल्लमा उक्त लघुवित्तले ९० वटा शाखाबाट सेवा दिइरहेको छ । हाल २७ करोड चुक्ता पुँजी रहेको उक्त लघुवित्तले १४ अर्ब २० करोड कर्जा वितरण गरेको श्रेष्ठले जानकारी दिए । सो कर्जामध्ये ९ अर्ब ६१ करोड असुली भइसकेको छ भने ४ अर्ब ५९ करोड लगानी रहेको छ । लघुवित्तले विभिन्न ९ वटा बचत खाता सञ्चालनमा ल्याई कुल १ अर्ब २४ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, यस लघुवित्तले वित्तीय मात्र नभइ गैरवित्तीय कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । ‘सबै सदस्यलाई सिपमूलक तालिम प्रदान गर्दै आएका छौँ । पहिला बोल्न नसक्ने महिलाहरू लघुवित्तले गर्दा महिनामा एक पटक भेला हुने, बचत गर्ने, ऋण लिने, व्यवसाय गर्ने अगाडि आएर बोल्न सक्ने क्षमताको विकास भएको छ,’ उनी भन्छन्, ‘लघुवित्तलाई महिलाहरूले माइत घर जस्तै ठान्ने गर्छन् । हामीले पनि उनीहरूको आवश्यकता अनुसार विभिन्न सिप, क्षमता तथा व्यक्तित्व विकासका कार्यक्रमहरू सञ्चालनमा ल्याउने गरेका छौँ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स