काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर अण्डाउदै कोणसभाको आयोजना गरेको छ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ अण्डाईएको कालो व्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नरमाथि सुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गरु भन्ने नाराहरु समावेश गरिएको छ।
कालो ब्यानर झण्डाउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई संबोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब जब राज्य संचालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तव तव नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए।
हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।
यस अधि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याण विक्रम अधिकारी, तिलक बहादर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफहरुसंग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारवाही फिता लिन नेपाल सरकारलाई अनुरोध गरे ।
उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, बरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।