कुन वाणिज्य बैंकको ईपीएस कति ? सेयर खरिद गर्दा ध्यान दिनुपर्ने प्रमुख सूचकमध्ये एक

काठमाडौं । २०७८ असार मसान्तसम्म अधिकांश वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । २०७७ असार मसान्तसम्म वाणिज्य बैंकहरुको ईपीएस औसतमा १९.६५ रुपैयाँ थियो । २०७८ असार मसान्तमा वाणिज्य बैंकहरुको ईपीएस समान्य वृद्धि भएर २०.०३ रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको ईपीएस औसतमा ०.३८ रुपैयाँले बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

२७ वटा वाणिज्य बैंकमध्ये १० वटाको ईपीएस घटेको छ । २ वटाको स्थिर र १५ वटा वाणिज्य बैंकका ईपीएस बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ वटा वाणिज्य बैंक छन् । राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन ।
राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, बैंक अफ काठमाडौं, नेपाल एसबीआई बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको प्रति सेयर आम्दानी घटेको छ ।

लक्ष्मी बैंक र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको प्रतिसेयर आम्दानी स्थिर देखिएको छ ।

हिमालयन बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, एनमबि बैंक, सन् राइज बैंक, मेगा बैंक, सिटिजन्स बैंक र कुमारी बैंकले प्रतिसेयर आम्दानी बढाएका छन् ।

प्रतिसेयर आम्दानी बढाउने नेपाल बंगलादेश बैंक शिर्ष स्थानमा रहेको छ । नेपाल बंगलादेश बैंकले प्रति सेयर आम्दानी १० अंकले बढाएको छ । नेपाल बंगलादेश बैंकको २०७७ असारमा प्रतिसेयर आम्दानी १५.०१ रुपैयाँ थियो भने २०७८ असारमा २५.४६ रुपैयाँ पुगेको छ । २०७८ असारमा नेपाल बंगलादेश प्रति सेयर आम्दानीका हिसाबले सातौं नम्बरमा छ । २०७७ असारमा नेपाल बंगलादेश प्रति सेयर आम्दानीका हिसाबले १८ औं नम्बरमा थियो ।

प्रतिसेयर आम्दानी गुमाउनेमा एभरेष्ट बैंक पहिलो स्थानमा छ । एभरेष्ट बैंकले ९ रुपैयाँ प्रतिसेयर आम्दानी गुमाएको छ । २०७७ असारमा एभरेष्ट बैंकको प्रति सेयर आम्दानी २९.७१ रुपैयाँ थियो भने २०७८ असारमा आम्दानी घटेर २०.५६ रुपैयाँ पुगेको छ । २०७८ एभरेष्ट बैंक प्रतिसेयर आम्दानीका हिसाबले ११ औं नम्बरमा छ । २०७७ असारमा एभरेष्ट बैंक प्रतिसेयर आम्दानीको हिसाबले ५ औं नम्बरमा थियो ।

प्रतिसेयर आम्दानीको हिसाबले शिर्ष स्थानमा नेप्सेमा सूचिकृत नभएको राष्ट्रिय बाणिज्य बैंक छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी २०७७ असारको तुलनामा २०७८ असारमा घटेको छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ७ अंकले घटेको छ । २०७७ असारमा राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ४८.६१ रुपैयाँ थियो भने २०७८ असारमा ४१.३२ रुपैयाँ छ ।
प्रतिसेयर आम्दानीका हिसाबले नबिल बैंक दोस्रो स्थानमा छ । तर नबिल बैंकको प्रति सेयर आम्दानी २०७७ असारको तुलनामा २०७८ असारमा घटेको छ । नबिल बैंकको आम्दानी ३ रुपैयाँले घटेको छ । नबिल बैंकको २०७७ असारमा ३६.१६ रुपैयाँ थियो भने २०७८ असारमा ३३.४०  रुपैयाँ छ । गत वर्ष नबिल बैंकले ३३.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

बैंकहरुले प्रतिसेयर आम्दानीबाट केही तल घटेर आफ्ना सेयर लगानीकर्तालाई लाभांश बढ्ने गरेका छन् । प्रतिसेयर आम्दानी धेरै भएको कम्पनीको सेयर खरिद गर्दा लगानीकर्ताले प्रतिफल उच्च पाउने सम्भावना हुन्छ । त्यसैले सेयर खरिद गर्न खोजिएको कम्पनीको वित्तीय विवरण हेर्दा ईपीएसमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

यस्तो छ वाणिज्य बैंकहरुको ईपीएस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स