बीमाका सर्वेयर तथा अभिकर्तासँग पनि जोडियो एनसीएचएल

विद्युतीय कारोबारमा जम्दै आएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले पछिल्लो समय बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र समेत नवीकरण गर्न थालेको छ । विद्युतीय चेक क्लियरिङ गर्ने उद्देश्यका साथ १३ वर्ष अघि स्थापना भएको उक्त कम्पनीले पछिल्लो समय आफ्नो सेवालाई थप्दै सर्वेयर र अभिकर्ताको इजापत्र नवीकरण समेत डिजिटल माध्यमबाट गर्न सुरु गरेको छ ।

क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यममा जोडिन बीमा समितिले एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता पनि गरेको छ । एनसीएचएलको कनेक्ट आईपीएस र मोबाईल एप तथा कर्पोरेट ‘पे’ प्रणाली मार्फत सर्वेयर तथा अभिकर्ताले आफ्नो बैंक\वित्तीय संस्थाको खाताबाट नवीकरण शुल्क भुक्तानी गर्न सक्ने छन् ।

विद्युतीय चेक क्लियरिङ (एनसीएचएल–ईसीसी) बाट सेवा सुरु गरेको यस कम्पनीले अन्तर बैंक विद्युतीय भुक्तानी (एनसीएचएल–आईपीएस), कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्टस इन्टरफेस (एनपीआई) र कर्पोरेट ‘पे’लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरू सञ्चालनमा ल्याएको छ ।

एनसीएचएलमा आवद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेशलन पेमेन्ट स्वीच अन्तर्गतको बिलर गेटवेमा जोड्ने कार्य समेत गर्दैछ । यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने बताइएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ । हाल उक्त कम्पनीमा ६० बैंक वित्तिय संस्थाहरू आवद्ध छन् भने अन्य पीएसपी\पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८७ गैर—बैंकिङ संस्थाहरू इन्डाइरेक्ट\प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

एनसीएचएलले नेपाल सरकारका संस्थानहरू, नियामक निकायहरू लगायतका विभिन्न निकाय तथा संस्थाहरुको डिजिटल भुक्तानीका नीति कार्यान्वयनमा प्रमुख भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स