नेपाल बैंकका कर्मचारीहरु र ग्राहकलाई न्यूरो कार्डियो हस्पिटल विराटनगरमा उपचार खर्चमा विशेष छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच फागुन २७ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशत सम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

विराटनगरमा भएको उक्त सम्झौता पत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरे । उक्त कार्यक्रममा हस्पिटलका संचालक निर्देशक भट्टराईले न्यूरो कार्डियो हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे ।

त्यसैगरी नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले विराटनगरमा स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल न्यूरो कार्डियो हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरे । साथै उनले यस विशेष छुट सुबिधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु र ग्राहकहरुले लाभान्वित हुने विश्वास समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल बैंक प्रदेश नं. १ प्रादेशिक कार्यलयका प्रमुख सुर्य प्रकाश भट्ट, सिटी अफिस विराटनगर तथा बजारअड्डा शाखाका शाखा प्रबन्धकहरु र बैंकका अन्य कर्मचारीहरु र न्यूरो कार्डियो अस्पतालका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स