नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पायो, जेठमसान्तसम्म एकीकृत कारोबार हुने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आफुमा एक्वायर (गाभ्न) राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ । राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न आज (आइतबार) सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
नबिल बैंकले एनबीबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । नबिलले एनबीबीको सेयर ४३ रुपैयाँका दरले खरिद गर्नेगरी प्रारम्भिक सम्झौता गरेको हो । यी दुई बैंकको सम्पत्ति तथा दाहित्व (डीडीए) मूल्यांकन भने तयार भइसकेको छैन । डीडीए मूल्यांकन पछि यी दुई बैंकको वास्तिवक मूल्य थाहा हुन्छ । डीडीए प्रतिवेदनको आधारमा अहिलेको मूल्य केही तल माथि पनि हुन सक्ने सम्भावना रहन्छ ।

दुई बैंकले डीडीएको प्रक्रिया पनि अघि बढाइ सकेका छन् । अबको १५, २० दिनमा डीडीए सकिनेछ । अबको ३ महिना भित्रमा कर्मचारी र शाखाहरु व्यवस्थापनको टुंगो लागएर जेठ मसान्त भित्रमा एकीकृती कारोबार सुरु गर्ने नबिलको लक्ष्य छ ।

नबिलले एनबीबीलाई हाल खरिद गरेको स्वाप रेसियो अनुसार बैंकको चुक्ता पुँजी २२ अर्ब ६४ करोड ४२ लाख रुपैयाँभन्दा बढी हुनेछ । नबिलले एनबीबीको स्वामित्व १००ः४३ रुपैयाँमा खरिद गरेको हो । हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ र बंगलादेश बैंकको १० अर्ब ८ करोड ५४ लाख रुपैयाँ छ ।

आईएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मूख्य लगानीकर्ता विनोकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने टुंगो लागेपछि मर्जरको औपचारिक सहमति बनेको थियो । यद्यपी यो विषयमा अदालतमा मुद्दा विचाराधिन छ ।

किन मर्जर

नबिल र नेपाल बंगलादेश राष्ट्र बैंकबाट अनुपति प्राप्त वाणिज्य बैंक हुन् । वित्तीय सेवा प्रदान गर्नका लागि यी दुई बैंकको स्थापना भएको हो । तर, यी दुई बैंकका लक्ष्ति ग्राहक र व्यवसायको प्रकृति भने अलि भिन्न छ । नबिल बैंकको शक्ति भनेको कर्पोरेट क्षेत्र र एनबीबीको निर्माण क्षेत्रमा काम गर्नेलाई बैंक ग्यारेन्टी दिने । नबिल बैंकले आयोजनामा लगानी गरिरहेको छ भने एनबीबीले त्यसको ठेकेदारहरुमा लगानी गरिरहेको छ ।

निर्माण व्यवसायीको ग्यारेन्टीबाट एनबीबीले वार्षिक ८०/९० करोड रुपैयाँ कमिसन आम्दानी गर्ने गरेको छ । नबिल भने गैर ब्याज आम्दानीमा कमजोर छ । एनबीबीको दक्षता प्रयोग गरेर गैर ब्याज आम्दानी बढाउने नबिलको योजना छन् ।  ग्यारेन्टी व्यवसायमा पनि नबिल बैंकको अब पकड बढ्दै जाने छ । गैर व्याज आम्दानीमा नबिल बैंक अब्बल बन्ने छ ।

नबिल बैंकसँग हाल करिब ३० अर्ब रुपैयाँ बराबरको प्राथमिक पुँजी कोष छ । एउटा बैंक तथा वित्तीय संस्थाले एक क्षेत्र तथा व्यवसायीक घरानामा प्राथमिक पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउँछ । साथै, ट्रेडिङ लगायत अन्य व्यवसायमा प्राथमिक पुँजीको साढे ७ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । एनबीबी बैंकसँग हाल करिब १५ अर्बको प्राथमिक पुँजी छ । दुवै बैंकको प्राथमिक पुँजी जोड्दा करिब ४५ अर्ब रुपैयाँ छ । एनबीबीलाई गाभे पछि नबिलको लगानी गर्ने क्षमता पनि वृद्धि हुनेछ । राष्ट्रिय गौरवका तथा निर्माणका क्रममा रहेका ठूला आयोजनामा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहनेछ । स्वदेशी वित्ती प्रयोगगरी मुलुकलाई सम्पन्न बनाउन पनि नबिल बैंकले अहम भूमिका निर्वाह गर्नेछ । यस मर्जरले नबिल बैंक बैंकिङ क्षेत्रको लिडर बैंकको रूपमा उभिने अभियानका जुटेको छ ।

यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । यसैगरी छ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोड भन्दा बढी कायम हुनेछ ।

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ ।

बैंकको अवस्था

नेपालकै ठूलो बैंक बन्ने योजनालाई साकार पार्नका लागि नबिलले एनबीबीलाई गाभेको हो । एनबीबीसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ पुग्नेछ । हाल नबिलको १४१ र एनबीबीको १०० वटा शाखा सञ्चालनमा रहेका छन् । एटीएम संख्या पनि २९२ वटा पुग्नेछ । नबिलको १८७ र एनबीबीको १०५ वटा एटीएम सञ्चालनमा छन् । नबिलसँग १३ सय २८ र एनबीबीसँग ९६८ कमचारी रहेका छन् ।

नबिल बैंकले २ खर्ब १५ अर्ब २० करोड र एनबीबीले ७४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । एनबीबीलाई गाभेपछि नबिलको कर्जा २ खर्ब ९० अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।

नबिल बैंकसँग करिब ११ लाख ग्राहक र एनबीबीसँग ५ लाख ग्राहक छन् । नबिलको मुद्दती निक्षेप खाता ३३ हजार ९४, चल्ती निक्षेप खाता ९३ हजार ८८, बचत निक्षेप खाता ९ लाख ४८ हजार ४६६, कल निक्षेप खाता ४ हजार ५१२, मार्जिन निक्षेप खाता ८ हाजर ७४३ र अन्य निक्षेप खाता ६३५ वटा छन् ।

एनबीबी बैंकको मुद्दती निक्षेप खाता १३ हजार ४४३, चल्ती निक्षेप खाता ६८ हजार ९१, बचत निक्षेप खाता ४ लाख १९ हजार ६४२, कल निक्षेप खाता १ हजार ५०९, मार्जिन निक्षेप खाता २ हाजर ४९ र अन्य निक्षेप खाता ५ वटा छन् । नबिलले एनबीबीलाई गाभे पछि ग्राहकसंख्या करिब १६ लाख पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स