सस्तियो नेपाली रुपैयाँ, एक डलरका लागि १२३ रुपैयाँ ४४ पैसा खर्चनु पर्ने, यस्ता छन् फाइदा बेफाइदा

काठमाडौं । पछिल्लो समय नेपाली रुपैयाँको अवमूल्यन हुँदै गएको छ । अमेरिकी डलरको मूल्य बढेसँगै नेपाली रुपैयाँ सस्तिएको हो । विश्व बजारमा अमेरिकी डलरेको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको अमेरिकी मुद्रा (डलर) को बिक्री दर १२३.४४ रुपैयाँ र खरिद दर १२२.८४ रुपैयाँ रहेको छ । यो अहिले सम्मकै उच्च खरिद बिक्री दर हो ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो । यी दुई देशबीच युद्ध, अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण अमेरिकी डलरको भाउमा हालसम्मकै माथिल्लो विन्दुमा पुगेको हो । कच्चा तेलको मूल्य बढेसँगै अन्तरराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

जब जब विश्वमा द्वन्द्व हुन्छ, तब तब सुरक्षित मानिने सुन र डलरको मूल्यमा वृद्धि हुन्छ । अहिले विश्व बजारमा सुनको मूल्य प्रति औंस २ हजार डलरभन्दा माथि पुगेको छ भने अमेरिकी डलरको मूल्य पनि उकालो लागेको छ । नेपालीले एक अमेरिकी डलर सटही गर्नको लागि १२३ रुपैयाँभन्दा बढी खर्चनु पर्छ भने एक तोला सुन खरिद गर्नका लागि १ लाख ३ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

नेपाली रुपैयाँ सस्तो हुनुको मुख्य कारण भनेको अहिले भारतीय रुपैयाँका कारणले हो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यस कारणले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुन्छ ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको मूल्य वृद्धि हुँदै जाँदा भारु खस्कियो र भारुका कारण नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको हो ।

डलरको भाउ बढ्दा निर्यात र रेमिट्यान्समा राहत

विश्व बजारमा एक छत्र राज जमाएको अमेरिकी डलरको मूल्य बढ्दा नेपालबाट विदेशमा वस्तु निर्यात गर्दा फाइदा हुन्छ भने रेमिट्यान्स आय पनि बढ्छ । डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा बढ्छ । डलरको भाउ बढ्दा रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन् ।

तर, सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा नपाउन पनि सक्छन् । डलरमा तलव भत्ता बुझ्नेलाई डलरको मूल्य वृद्धिले फाइदा पुगेपनि स्थानीय मुद्रामा तलब बुझ्ने कामदारले भने नाफा गर्न सक्दैनन् । किन कि भारु अवमूल्यन हुँदा कामदारले काम गर्ने देशको मूल्य पनि अवमूल्यन भएको हुन सक्छ । सो कारण उक्त देशको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको हुन सक्छ । यस्तो अवस्थामा भने डलरको भाउ बढ्दा पनि कामदारले कुनै लाभ पाउँदैन ।

डलरको वृद्धिले निर्यात व्यापारमा भने केही टेवा मिल्ने छ । नेपाली रुपैयाँमा खरिद गरेको वस्तु डलरमा बिक्री गर्दा बढी मूल्य आउने भएकाले डलरको मूल्य बढ्दा निर्यात व्यवसायलाई भने सहयोग मिल्ने देखिन्छ । विदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ ।

त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने सामान निर्यात गर्ने उद्यमीलाई भने यसले मूल्य बढाउन सहयोग गर्नेछ ।

आयातीत वस्तु महँगो हुने, व्यापार घाटा बढ्ने

नेपालमा वार्षिक रुपमा १४/१५ खर्ब रुपैयाँको माल वस्तु आयात हुने गरेको छ । आयातको तुलनामा निर्यात व्यापार नगन्य छ । यस्तो आयात गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरिदै आएको छ । सो कारण यस्ता आयातीत वस्तु भने यहाँ महँगो पर्न जान्छ । जसले गर्दा व्यापार घाटा झन बढेर जान्छ ।

नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । किनकी डलर महँगिएका कारण भारतमा उत्पादन भएर नेपाल भित्रिने कच्चा पदार्थको पनि उद्योगले डलरमा नै भुक्तानी गरिएको हुन्छ । सो कारणले भारतसँगको स्थिर विनिमय दर भएपनि डलर महँगो हुँदा अर्थतन्त्रदेखि चूलोसम्म महँगो हुने गर्दछ ।

डलर र तेलको मूल्य वृद्धि हुँदा अहिले नेपाली एक लिटर पेट्रोल खरिद गर्नको लागि १५० रुपैयाँ खर्चिनु परेको छ । अझ १६ रुपैयाँ नेपाल आयल निगमलाई घाटा छ ।

विदेशी ऋणतिर्दा बढी भुक्तानी गर्नुपर्ने     

सरकारले विदेशी संघ संस्था तथा दातृ निकायसँग ऋण लिएको हुन्छ । यो ऋण सरकारले बजेटको अभिन्न अंग पनि हो । आन्तरिक स्रोतले खर्चै नधान्ने भएपनि सरकारको पहिलो प्राथमिकतामा विदेशी अनुदान र त्यसपछि ऋण पर्छ ।

त्यहि अनुसार सरकारले आफूले लिएको विदेशी ऋणको सावा ब्याज समयसीमा अनुसार तिर्दे जानु पर्छ । यसरी भुक्तान गर्ने ऋण डलरमा गर्नुपर्ने भएको डलरको भाउ बढ्दा ऋणको भार पनि अझ बढ्छ अर्थात नेपालले डलरको भाउ अनुसार भुक्तानी गर्दा धेरै नेपाली रुपैयाँ खर्चनु पर्ने हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स