सिंगटी जलविद्युत आयोजनाले उत्पादन गरेको २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडियो

काठमाडौं । सिंगटी जलविद्युत आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । दोलखामा निर्माण सम्पन्न आयोजना निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आफ्नै पहलमा प्रशारणलाइन निर्माण गरेर लामोसाँघुस्थित प्रशारण लाइनमा परियोजना जोडेको कम्पनीका कार्यकारी निर्देशक गणेश कार्कीले जानकारी दिए । शुक्रबार दिउँसोको ३ बजेदेखि उत्पादित विद्युत प्रशारण लाइनमा जोडिएको हो ।

आयोजनाबाट उत्पादित विद्युत नेशनल ग्रिडमा जोड्न सफल भएका छौं,’ उनले भने ‘सिंगटी लामोसाँघु प्रसारण लाइनको परिक्षण सफल भएपछि उत्पादित विद्युत नेशनल ग्रिडमा जोडिएको हो ।

पहिलो चरणमा प्रतिसेकेण्ड ५ हजार लिटर पानी छोड्दा २ वटा टर्वाइनमार्फत विद्युत उत्पादन सुरु भएको छ । हाल खोलामा पर्याप्त पानी हुँदा क्षमताअनुसार नै विद्युत उत्पादन भइरहेको छ ।

कालिञ्चोक र विगु गाउँपालिकास्थित सिंगटी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाट क्षमताको आयोजनाको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । यस अघिनै निर्माण सम्पन्न भएर सफल परिक्षण सकिएको सिंगटीले उत्पादन गरेको विद्युत शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

सिंगटीले प्राधिकरणलाई वार्षिक ७२ करोड रुपैयाँको बिजुली बेच्नेछ । र, त्यो वार्षिक ३ प्रतिशतले बढ्दै जानेछ । सिंगटी खोलामा पानीको डिस्चार्ज साह्रै राम्रो छ । ट्रान्स्मिसन लाइन २ सय मिटरमात्र लामो छ । यसकारण ट्रान्स्मिसन लस छैन ।

सिंगटी सुपर सिक्स मध्येको नमुना आयोजना हो । नेपाल विद्युत प्राधिकरणले २०६७ सालमा सबैभन्दा छिटो विद्युत उत्पादन हुने ६ वटा आयोजनाहरु फास्ट ट्रयागकबाट बिजुली उत्पादन गर्न भन्दै सुपर सिक्स नामकरण गरि निजी क्षेत्रलाई जिम्मा लगाएको थियो । तीमध्ये सिंगटी सबैभन्दा चाँडो बिजुली उत्पादन गरी प्रशारण लाइनमा जोडिने आयोजना हो ।

डेढ वर्ष अघि नै निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणले टेस्टिङका लागि ढिलाइ गर्दै आएको थियो । प्रशारण लाइन निर्माण सम्पन्न नहुँदा ४५ प्रतिशत फाइन तिर्नुपर्ने भएपछि प्राधिकरणले टेस्टिङमा चासो देखाएको थिएन । ३ महिना अघि नेपाल विद्युत प्राधिकरणले टेस्टिङको काम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स