काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८९ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.०२ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा २८.८४ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ५८ करोड ७९ लाख रुपैयाँबाट घटेर ४९ करोड ७२ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ७.०३ प्रतिशत बढेको छ भने जगेडा कोष २२.५६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २६.४४ प्रतिशत र कर्जा २२.७४ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस ३ रुपैयाँ ६ पैसा बढेर १८ रुपैयाँ १ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ रहेको छ ।