गैरकानुनी धन्दामा ई-सेवा

काठमाडौं । भुक्तानी सेवा प्रदाय ई-सेवा गैरकानुनी धन्दामा संलग्न रहेको पाइएको छ । इसेवाको प्रयोग अनलाइन जुवा (बेटिङ)मा भइरहेको भेटिएको हो ।

मध्यपूर्वमा अवस्थित साइप्रस मुलुकमा मूख्य कार्यालय रहेको ‘वानएक्सबेट’ (अनलाइन जुवा खेल्ने माध्यम) मार्फत् ई-सेवाको दुरुपयोग गर्दै अवैध कारोबार हुने गरेको छ ।

फुटबल, क्रिकेटलगायतका ठूला अन्तर्राष्ट्रिय खेलकुल प्रतियोगिताको नतिजामा राखिने सट्टेबाजीको रकम ई-सेवा मार्फत् भुक्तानी हुने गरेको छ ।

ई-सेवा लगायत भुक्तानी सेवाको प्रयोग सट्टेबाजहरुले गरिरहेको उजुरी परेको प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) स्रोतले जानकारी दिएको छ ।

‘नेपालको कानुनले जुवालाई अवैध मान्छ । प्रविधिको विकाससँगै जुवा खेल्ने संस्कार पनि बदलिएको छ । अहिले एउटा मोबाइलको सहायताले कुनै पनि स्थानमा बसेर जुवा खेल्न सकिन्छ,’ सीआईबीका अधिकारीले भने, ‘अनलाइन जुवा खेल्नका लागि भुक्तानी सेवा प्रदायक सजिलो माध्यम भइदिएको छ ।’

भुक्तानी सेवा प्रदायकको उदयसँगै आममानिसको जीवनमा सहजता थपिदिएको छ । भुक्तानी सेवा प्रदायकको प्रयोगबाट मोबाइल फोनको सहयताले मोबाइल रिचार्ज, खानेपानी, टेलिफोन, बिजुली, रेष्टुरेन्टको बिल, बीमाको प्रिमियम, राजस्वलगयात धेरै काम घरबाटै गर्न सकिन्छ । तर, भुक्तानी सेवाको बढ्दो प्रयोगसँगै विकृती पनि मौलाउँदै गएको ती अधिकारीको बुझाइ छ ।

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ राष्ट्र बैंकको नजरमा पर्दा अर्को गैरकानुनी धन्दा ‘अनलाइन बेटिङ’लाई उन्मुक्ति

‘विगतमा जुवा खेल्नेहरुले नगद पैसाको जोहो गर्नु पथ्र्यो । अहिले अनलाइनबाटै पैसा भुक्तानी गरेर जुवा खेल्न सकिन्छ,’ ती अधिकारीले भने, ‘मोबाइलमै रहेको एपको आधारमा जुवा खेल्न सकिन्छ ।’ कारोबारको जानकारी प्राप्त गर्न कठिन हुने भएकाले पनि अनलाइन जुवामा भुक्तानी सेवा प्रदायकको प्रयोग भइरहेको हो ।

छोटो समयमा छिटो कमाउने आशमा नेपाली युवाहरु जुवाको लतमा फस्दै गहिरहेका छन् । जुवा खेल्नेले व्यक्तिगत सम्पत्ति गुमाउनुका साथै नेपाल भित्रको पैसा पनि बाहिरिरहेको छ ।

कसरी हुन्छ ईसेवाबाट भुक्तानी

अनलाइन जुवा खेल्नेहरुले सर्वप्रथम वानएक्सबेटमा खाता बनाउँछन् । जुवा खेल्नका लागि वानएक्सबेटको खातामा पैसा राख्नु पर्ने हुन्छ । वानएक्सबेटको खातामा रकम राख्नका लागि सट्टेबाजहरुले भुक्तानी सेवा प्रदायक ई-सेवाको प्रयोग गर्ने गर्छन् ।

वानएक्सबेटमा खाता बनाएका सट्टेबाजहरुले त्यसको मेन्यूमा गएर ‘माई एकाउन्ट’ मा क्लिक गरेपछि पैसा राख्ने र झिक्ने विकल्प प्राप्त गर्छन् । पैसा राख्नका लागि ‘टप अप एकाउन्ट’ र पैसा झिक्नका लागि ‘विथड्र’ अप्सनमा क्लिक गर्ने गरिन्छ ।

वानएक्सको खातामा पैसा राख्न टप अप एकाउन्टमा क्लिक गरिसकेपछि विभिन्न विकल्पहरु देखा पर्छ । ती विकल्पमध्येमा नेपालकै ठूलो र लोकप्रिय भुक्तानी सेवा प्रदाक ईसेवा पनि देख्न सकिन्छ । अनलाइन जुवा खेल्नेले ई-सेवा लेखिएको स्थानमा क्लिक गरेपछि भुक्तानीको विवरण आउँछ । त्यहाँ राखिएको अर्को ई-सेवा आईडीमा पैसा ट्रान्सफर गर्नु पर्ने हुन्छ ।

वानएक्सबेटमा देखिने ई-सेवाको नम्बरमा रकम भुक्तानी गरिदिनु पर्ने हुन्छ । र, अनलाइन जुवा खेल्ने व्यक्तिले आफूले भुक्तानी गरेको ट्रान्जेक्सन नम्बर, आफ्नो नाम र इसेवा आईडी राखेर कन्फर्म गर्नु पर्ने हुन्छ । त्यस पछि अनलाइन जुवा खेल्न तयार पारिएको आईडीमा उक्त रकम आउँछ । सट्टेबाजले उक्त रकम प्रयोग गरेर विभिन्न खेलमा पैसा लगाउने गर्छन् ।

यदि सट्टेबाजले वनएक्सबेटबाट पैसा झिक्न चाहेको खण्डमा पनि ईसेवाकै प्रयोग गर्ने गर्छन् । ई-सेवाबाट सहजै भुक्तानी लिन सकिन्छ । त्यसका लागि विथड्र भन्ने विकल्पमा क्लिक गर्नु पर्ने हुन्छ । त्यहाँ पनि भुक्तानीका लागि विभिन्न विकल्पहरु देखा पर्छन् । त्यसमध्ये ई-सेवा देखिएको ठाउँमा क्लिक गरेर आफूले झिक्न चाहेको रकम, ई-सेवा आईडी र आफ्नो नाम राखेर कन्फर्म गर्नु पर्छ । सो गरिसकेपछि मोबाइलमा ७ अंकको विथड्र कि प्राप्त हुन्छ । उक्त नम्बर राखेर पुन कन्फर्म गर्नु पर्ने हुन्छ । सो गरिसकेपछि वानएक्सको एजेन्टका रुपमा रहेका ई-सेवा प्रयोगकर्ताले सट्टेबाजको ई-सेवा आईडीमा पैसा पठाइदिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स