काठमाडौं । गत आर्थिक वर्षको असारमसान्तमा २१ वटा वाणिज्य बैंकले ४८ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूले ४० अर्ब ५७ करोड नाफा आर्जन गरेका थिए ।
यी बैंकहरूले कमाएको नाफा अघिल्लो आवको भन्दा ८ अर्ब १२ करोड रुपैयाँले बढी हो । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ ।
बैंकले गत आर्थिक वर्षको असारमसान्तसम्म ३ अर्ब ७९ करोड नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ३७ करोड नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको नाफामात्रै ४ अर्बभन्दा माथि थियो । गएको वर्ष भने बैंकको नाफा घटेको छ ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये ६ वटा बैंकको नाफा ३ अर्बभन्दा माथि छ । ३ अर्बभन्दा बढी नाफा गर्ने बैंकमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, एनआईसी एशिया बैंक र नेपाल बैंक रहेका छन् ।
त्यसरी नै ७ वटा बैंकको नाफा २ अर्बभन्दा माथि र ३ अर्बको बीचमा रहेको छ । हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड रहेको छ भने एनएमबि, मेगा, नेपाल बंङ्गलादेश बैंक, सानिमा बैंक, प्रभु र कुमारी बैंकको नाफा पनि २ अर्बभन्दा माथि रहेको छ ।
अन्य ७ वाणिज्य बैंकको नाफा पनि १ अर्बभन्दा माथि र २ अर्बभन्दा कम रहेको छ । एभरेष्ट बैंकले गएको आवमा १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ । माछापुच्छ्रे, सिटिजन, लक्ष्मी, बैंक अफ काठमाडौं स्ट्याण्डर्ड चार्टर्ड, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको नाफा भने एक अर्बभन्दा माथि रहेको छ ।
वित्तीय विवरण सार्वजनिक गरेका २१ वाणिज्य बैंकमध्ये सिभिल बैंकको नाफामात्रै सबैभन्दा कम रहेको छ । सिभिल बैंकले गएको आवमा ५५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । अन्य ६ बैंकको भने वित्तीय विवरण सार्वजनिक भएको छैनन् ।