कुन बैंकबाट कर्जा लिँदा कति ब्याज पर्छ (सूची सहित)

काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि मुद्दति निक्षेपमा ब्याजदर बढाएसँगै कर्जामा पनि ब्याजदर बढ्ने भएको छ । निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । निक्षेपमा ब्याजदर बढाउँदा बचतकर्ताले लाभ प्राप्त गरेपनि ऋणी भने चर्को ब्याजदरको मारमा पर्नेछन् ।

माघ महिनामा ब्याजदर हेरफेर बैंकहरुले फागुन महिनाका लागि भने ब्याजदर बढाएका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको शुक्रबार बसेको बैठकले ब्याजदर बढाउने निर्णय गरेको थियो । बैंकहरुले नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तमा ब्याजदर सार्वजनिक गर्नु पर्ने व्यवस्था छ । माघ मसान्त शनिबार परेकाले बैंकहरुले फागुन १ गते नै फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदर अनुसार बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११.०३ र न्युनतम ९.५ प्रतिशत ब्याज दिनेछन् । २६ वटा वाणिज्य बैंकको मुद्दति निक्षेमा ११.०३ प्रतिशत ब्याजदर तोकेका छन् भने स्ट्यान्डर्ड चाटर्ड ब्यकले भने ९.५ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।

साधारण बचतमै बैंकहरुले ६.०३ प्रतिशत ब्याज दिइरहेका छन् । बैंकहरुले रेमिट्यान्स मुद्दतिमा १ प्रतिशत थप गरेर ब्याज दिन पाउँछन् । रेमिट्यान्स मुद्दतिमा १२.०३ प्रतिशत ब्याजदर कायम भएको छ ।

राष्ट्र बैंकले एउटै वर्गका बैंकहरुले लागु गरेको अधिकतम ब्याजदरलाई औसत गरी पछिल्लो महिनामा १० प्रतिशत सीमाले ब्याजदर पविर्तन गर्न भनेको हो । जसअनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको औसत निक्षेपको ब्याजदर १०.९७ कायम भएको छ । जसमा १० प्रतिशतसम्म बढाउन पाउँदा वाणिज्य बैंकहरुले चैत महिनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.०७ प्रशितत कायम गर्न पाउने देखिन्छ ।

यस्तो ब्याजदर अघिल्लो महिना अर्थात् पुस मसान्तसम्म साधारण बचतमा ५ प्रतिशतदेखि ९ प्रतिशत र मुद्दती निक्षेपमा १०.०५ प्रतिशतसम्म प्रस्ताव गरिएको थियो । अघिल्लो महिनाको तुलनामा बैंकहरूले फागुन महिनाका लागि ८.८८ प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूलाई आउँदो महिनाका लागि बितेको महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतसम्मले वृद्धि गर्न पाउने छुट छ ।

कुन बैंकको ब्याजदर कति ?

निक्षेपमा ब्याज बढेसँगै बैंकहरुले कर्जा पनि ब्याज बढाउने भएका छन् । निक्षेपको ब्याजदर १२.०३ प्रतिशत पुग्दा स्वाभाविक रुपमा कर्जाको ब्याजदर बढ्ने भएको छ । अब ऋणीहरुले कर्जामा न्यूनत १५ देखि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने देखिन्छ । बैंकहरुले आफ्नो बेस रेटमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर घोषणा गरेका छन् ।

सिभिल बैंकले आफ्नो बेस रेटमा अधिकतम ८ प्रतिशत ब्याजर लिने घोषणा गरेको छ । सिभिल बैंकको बेस रेट ९.७४ प्रतिशत छ । यसरी हेर्दा सिभिल बैंकबाट कर्जा लिनेले १७.७४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।

यस्तै, माछापुच्छे बैंकले ८.४२ प्रतिशत बेस रेटमा ७.५० प्रतिशत प्रिमियम जोडेर कर्जामा १५.९२ प्रतिशत ब्याज लिन सक्छ ।

नबिल बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले आफ्नो आधारदरमा अधिकतम ७ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएका छन् । यी बैंकहरूको बेस रेट न्यूनतम ७.६२ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म रहेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंकले आफ्नो ८.९८ प्रतिशतको बेस रेटमा ६.९९ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएको छ भने कुमारी बैंकले ८.९३ प्रतिशतको बेस रेटमा अधिकतम ६.५ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जानकारी दिएको छ ।

सनराइज बैंकले ९.०३ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले, एनआईसी एशिया बैंकले ९.४२ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले, सिद्धार्थ बैंकले ८.५८ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले, ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले र एनएमबी बैंकले आफ्नो ८.५८ प्रतिशतको बेस रेटमा ६ प्रतिशतले प्रिमियम जोडेर कर्जामा ब्याजदर लिने जनाएका छ ।

प्रस्तावित ब्याजदरमा ७ वटा बैंकले आफ्नो बेस रेटमा ५ प्रतिशतसम्म मात्र प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने जनाएका छन् । जसमा सरकारी स्वामित्वका ३ वाणिज्य बैंकसहित ४ निजी बैंकहरू छन् ।

कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले फागुन महिनाका लागि आफ्नो बेस रेटमा जम्मा ४ प्रतिशतले मात्र प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्ने बताएको छ । नेपाल बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम जोड्ने बताएको छ । हाल यी तीन सरकारी बैंकको बेस रेट क्रमशः ७.५३ प्रतिशत, ६.१४ प्रतिशत र ६.९२ प्रतिशत छ ।

यस्तै, निजी बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ७.४७ प्रतिशतको बेस रेटमा ५ प्रतिशत मात्र प्रिमियम जोडेर ब्याज लिने जनाएको छ । नेपाल बंगलादेश बैंकले पनि ५ प्रतिशत तथा लक्ष्मी बैंक र सिटिजन बैंकले पनि ५ प्रतिशतले नै प्रिमियम जोडेर कर्जाको ब्याज लिने जनाएका छन् ।

हाल लक्ष्मी बैंक र सिटिजन बैंकको बेस रेट क्रमशः ८.७४ प्रतिशत र ९.०८ प्रतिशत रहेको छ । यी कम्पनीहरूको कर्जाको ब्याजदर प्रिमियम जोडेर अधिकतम १४.०८ प्रतिशत हाराहारी पुग्ने देखिन्छ ।

फागुन महिनाका लागि बैंकहरुको प्रस्तावित ब्याजदर

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स