काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ९ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेको छ । बैंकले बुधबारदेखि दुई वर्षका लागि विकास ऋणपत्र २०८० बिक्री गर्न लागेको हो ।
बैंकहरुमा तरलता अभाव भएको बेला सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएपछि राष्ट्र बैंकले ऋण उठाउन लागेको हो ।
इच्छुक खरीदकर्ताले मंगलबार दिउँसो ३ बजेसम्म विकासपत्र खरिदका लागि दरखास्त दिन सक्ने छन् ।
बैंकले कुल विकास ऋणपत्रको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धी बोलवालाहरुलाई र १५ प्रतिशत विकास पत्र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको छ ।
ऋणपत्रमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी,संगठित संस्था तथा सर्वसाधारण सहभागी हुन सक्ने छन् ।
अनलाइन बोल कबोलमार्फत जारी गरिने यस विकास ऋणपत्र राष्ट्र बैंकको वेबसाइटबाटै आवेदन दिन सकिने छ ।