काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएल०ले सहवित्तीयकरणमा भाग लिन पाउने भएको छ ।
केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिइएको हो । २२ अर्ब चुक्तापुँजी भएको कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ ।
संशोधित व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुका साथै एचआईडीसीएलले (सम्बन्धित क्षेत्रमा) मात्र सहवित्तीयकरणमा भाग लिन पाउनेछ ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्था र एचआईडीसीएल (सम्बन्धित क्षेत्रमा) अगुवा संस्था हुने गरी गठन हुने सहवित्तीयकरण समूहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्था बाध नपुर्याउने राष्ट्र बैंकले जनाएको छ।
यसअघिको निर्देशनमा राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्थाहरुले मात्र सहवित्तीयकरणमा भाग लिन पाउने व्यवस्था गरिएको थियो । तर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) लाई यस बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था अगुवा संस्था हुने गरी गठन हुने सहवित्तीयकरण समूहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा नपुर्याउने व्यवस्था गरिएको थियो ।
यस निर्देशनको प्रयोजनका लागि ‘अगुवा संस्था’ भन्नाले सहवित्तीयकरण समूहले अगुवा संस्था भनी चयन गरेको कुनै इजाजतपत्र प्राप्त संस्था सम्झनुपर्छ।
त्यस्तै सहवित्तीयकरण कर्जा भन्नाले दुई वा दुईभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाहरुले आपसी समझदारीका आधारमा सम्झौता गरी कुनै एउटा ग्राहक, फर्म, कम्पनीलाई वा परियोजनाका लागि प्रवाह गर्ने कर्जा सापट तथा सुविधा हो ।