सनराइज बैंकको नाफा खुम्चदा प्रतिसेयर आम्दानी पनि घट्यो

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४७ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको यो अवधिको तुलनामा बैंकको खुद नाफा र सञ्चालन मुनाफा दुबै घटेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । सो कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.५९ प्रतिशत घटेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ १ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १४ रुपैयाँ ७४ पैसामा झरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.७८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २१.४३ प्रतिशत र कर्जा १९.८० प्रतिशत बढेको छ ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स