साढे ८ करोड खराब कर्जा उठाउँदा लघुवित्तको नाफा बढ्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशत बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.९९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३.१२ प्रतिशत बढेको छ ।
१.९५ प्रतिशत निष्क्रिय कर्जा रहेको यस लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ । लघुवित्तले पुस मसान्तसम्ममा ८ करोड ४० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

स्पर्स लघुवित्तलाई प्राप्त गरी गत वैशाख ३ गतेदखि एकिकृत कारोबार शुरु गरेको यस लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा ६७ प्रतिशत बढेको छ भने जगेडा कोष ९४.४३ प्रतिशत बढेको छ ।

त्यसैगरी, लघुवित्तको निक्षेप समीक्षा अवधिमा ५८.५० प्रतिशत, सापटी ४७.७८ प्रतिशत र कर्जा ७१.६४ प्रतिशत बढेको छ ।

खुद नाफा बढेपनि चुक्ता पुँजी उल्लेख्य बढेपछि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १९ रुपैयाँ ६० पैसा घटेर ५३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ ।

सो अवधिसम्ममा लघुवित्तको मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स