सेयर कर्जा घट्यो, गाडी र घरजग्गा किन्ने बढे

काठमाडौं । बैंक तथा वित्तीय कम्पनीबाट सेयर कर्जा लिनेले कर्जा घटाउँदै लगे पनि घरजग्गा र गाडी कर्जा भने बढाउँदै लगेका छन् । बैंक तथा वित्तीय संस्थाले चालु आवको मंसिरसम्म सेयर कर्जा ५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ भने पछिल्लो महिना मंसिरमामात्रै १ अर्ब ३१ करोड रुपैयाँले सेयर कर्जा घटेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४ र १२ करोडको सीमा लगाइदिएपछि उक्त कर्जा लगातार घट्न थालेको हो । मौद्रिक नीतियता मार्जिन कर्जा करिब पौने ६ अर्ब रुपैयाँले घटिसकेको छ । मंसिर महिनामा आइपुग्दा सो कर्जा १ अर्ब ३१ करोड रुपैयाँले घटेर १ खर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।

मौद्रिक नीति पश्चात मुख्यगरी वाणिज्य बैंकहरुको यस्तो कर्जा धेरै घटेको छ । गत भदौ अन्तिमसम्ममा ९० अर्ब ९२ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको यस्तो कर्जा असोजमा ८८ अर्ब २० करोड रुपैयाँमा झरेको थियो भने कार्तिक महिनामा ८६ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।

कार्तिक महिनामा मात्रै यस्तो कर्जा २ अर्ब ४ करोड रुपैयाँले घटेको छ । मंसिर महिनामात्रै वाणिज्य बैंकहरूले यस्तो कर्जा १ अर्ब ५४ करोडले घटाएर ८४ अर्ब ६१ करोडमा सीमित गरेका छन् ।

वाणिज्य बैंकहरू र विकास बैंकले सेयर कर्जा घटाए पनि फाइनान्स कम्पनीले पनि मंसिर महिनामा सेयर कर्जा बढाएका छन् । विकास बैंकहरूले पनि मंसिर महिनामा साढे २ करोड रुपैयाँ कर्जा घटाएका छन् । ‘ख’ वर्गका विकास बैंकले सो कर्जा घटाएर १२ अर्ब ३३ करोड रुपैयाँमा सीमित गरेका हुन् । गत आवको अन्त्यसम्म विकास बैंकहरूको यस्तो कर्जा १२ अर्ब ५२ करोड रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले मंसिर महिनमात्रै २५ करोड रुपैयाँले सेयर कर्जा बढाएर ३ अर्ब ६८ करोड रुपैयाँ पुर्याएका छन् । गत महिना कार्तिकसम्म फाइनान्सक कम्पनीको मार्जिन प्रकृतिको कर्जा ३ अर्ब ४३ करोड रुपैयाँमात्रै थियो ।

सेयर बजारका ठूला खेलाडीको राष्ट्र बैंकलदे तोकेकोभन्दा बढी कर्जा लिएका कारण उनीहरूले कर्जा थप्न पाएनन् भने साना लगानीले कर्ताले घट्दो बजारलाई विश्वास गर्न सकेनन् । आम लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा भएकाले सेयर कर्जा घटेको हो ।

केही बुलिस ट्रेनमा रहेको सेयर बजार पछिल्लो दिन फेरि घट्न थालेको छ । हिजो मंगलबार सेयरमा ठूला अंकले गिरावट आएको हो । वित्तीय बजारमा एकातर्फ तरलता अभाव हुनु र अर्कोतर्फ राष्ट्र बैंकले मार्जिन कर्जा घटाउन दिएको समय सीमा कारणले पनि सेयर कर्जा घटेको हो ।

गाडी र घरजग्गा कर्जा भने बढ्यो

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा घटाउँदै लगेपनि घरजग्गा र गाडी कर्जा भने बढाउँदै लगेका छन् । मंसिर महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले १ अर्ब ५४ करोड रुपैयाँ सवारी साधन खरिदको लागि कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कार्तिक महिनासम्म सवारी साधानमा १ खर्ब ६७ अर्ब ३६ करोड कर्जा प्रवाह गरेकामा मंसिरमा बढेर १ खर्ब ६८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

त्यसरी नै बैंक तथा वित्तीय संस्थाले मंसिर महिनामा मात्रै ३ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले कार्तिक महिनासम्म घरजग्गामा जम्मा २ खर्ब ३ अर्ब ८६ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेकोमा मंसिर महिनामा बढाएर २ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ पुयाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स