कृषि विकास बैंकको नाफा पौने ४ अर्ब, प्रतिसेयर आम्दानी भने घट्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्यसम्म ३ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत बढी हो । बैंकको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६० प्रतिशत घटेको छ । बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी र अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बैंकको खुद ट्रेडिङ्ग आम्दानी ३९ करोड २१ लाख रुपैयाँबाट बढेर ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अन्य सञ्चालन आम्दानी ३ करोड ५९ लाख रुपैयाँबाट बढेर ५० करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५१ करोडबाट घटेर २ करोडमा सीमित भएको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । गत आर्थिक वर्षमा १५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी बढाएको छ । यस बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ८० पैसा घटेर ३० रुपैयाँ ६५ पैसामा झरेको छ ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष १२.९३ प्रतिशत बढेको छ भने निक्षेप १३.२६ प्रतिशत र कर्जा २५.४५ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स