अर्थमन्त्रीका गाउँले सीईओ भण्डारीको निक्षेप तथा कर्जा सुरक्षण कोषमा रजाई, भित्र्याउँदै विकृति

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्चेन्ज तथा निक्षेप तथा कर्जा सुरक्षण कोषमा प्रमुख कार्यकारी पद रिक्त रहेको छ ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जका कार्यकारी प्रमुखमध्ये भिष्मराज ढुंगानाको सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।
स्टकका प्रमुख कार्यकारी अधिकृतले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा मुछिएपछि राजीनामा दिएर बसेका छन् ।
यी दुबै संस्थामा वर्गीयतामा दोस्रो स्थानमा रहेका कर्मचारीले संस्था सञ्चालन गरिरहेका छन् । नियुक्तिको प्रक्रिया मै छ । धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि ३ दिन अघिमात्रै सूचना निकालेको छ ।

तर,सरकारले कोषमा आवेदन परेका आवेदकको निवेदनलाई लत्याएर अर्थमन्त्रीका निकट व्यक्तिलाई संस्थामा मनोमानी गर्न दोहोरो सुविधा दिने गरी नियुक्त गरेको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको केसमा भने मन्त्री परिषद्ले निर्णय नै गरेर बढीमा ६ महिनाको लागि अर्थ मन्त्रालयका प्रशासन हेर्ने उपसचिव अर्जुन भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत बनाएर पठाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्री भएपछि गृहबाट अर्थमा तानेका भण्डारीलाई मंसिर १३ गतेको मन्त्री परिषद् बैठकबाट नियुक्त गराइ कोषमा प्रमुख कार्यकारी अधिकृतको हैसियतमा पठाएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा नियुक्त भएका शर्माका जिल्ला बासी अर्जुन भण्डारीले अहिले कोषमा सीईओको पदभार पाएका छन् ।

उनले मंसिर २० बाटै कोषको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाले पनि कार्यालय कहिले जाने, कुन समयमा जाने कुनै टुंगो छैन । उनी कहिले त ३/४ दिनसम्म पनि कोष पुग्न भ्याउदैनन् ।

यतिमात्रै होइन, उनी कोषमा प्रवेश गरेसँगै विकृतिहरू बढ्न थालेको छ । बैठक भत्ता बढेको छ । कार्यालय समयभन्दा फरक समयमा बैठक बसेर सञ्चालकहरूबीच फरक भत्ताको प्रावधान राखिएको छ ।

उनी आउनुअघि प्रति बैठक भत्ता ४ हजार रहेकोमा अहिले ७५ प्रतिशतले बढेर ७ हजार पुर्याइएको छ । त्यो भत्ता अध्यक्षको लागिमात्रै हो ।

कोषको अध्यक्षमा राजस्व सचिव रहने व्यवस्था छ । यो हैसियतमा अहिले कोषको अध्यक्षमा राजस्व सचिव कृष्णहरी पुष्कर रहेका छन् । अन्य सञ्चालकको भत्ता भने ५० प्रतिशतले बढेर ६ हजार पुगेको छ । कोषका प्रवक्ता तथा नायव प्रबन्धक विनोद पन्तले सञ्चालक समितिको भत्ता बढेको सुने पनि के कति बढेको थाहा नभएको बताए ।

यतिमात्रै होइन उनी कोषमा हाजिर भएको दिन नै प्रमुख कार्यकारी अधिकृतले चढ्ने बा.अ. १७
च ३७१ नम्बरको स्कोपियो गाडी पनि अहिलेसम्म कोषमा फर्किएको छैन । ‘सीईओ सायव कोष आउँदा कहिले कोषको गाडि नै चढेर आउनु हुन्छ भने कहिले अन्य गाडि चढेर आउने गर्नु भएको छ,’ उनले भने ‘कोषको गाडि निजी प्रयोजनाको लागि प्रयोग भएको छ या अफिसियल प्रयोजनको लागि भएको छ, त्यो भने थाहा छैन ।’

कोषमा हाजिर भएकै दिन उनले सो गाडीको मर्मत र गराएर सिट कभर समेत चेन्ज गरेका थिए । उनले अरुले बसेको सिट कभरमा नबस्ने भन्दै गाडीको इन्टेरियर परिवर्तन गर्न लगाएका हुन् ।

कोष सम्बन्ध कर्मचारीका अनुसार उनले सो गाडी माओवादीको अधिवेशनका लागि प्रयोग गर्न दिएको छ ।
भण्डारी नियमित रुपमा कोषमा नजाँदा कतिपय निर्णयहरू गर्न ढिला भएको छ । लोकसेवा आयोगले कर्मचारी भर्नाको लागि लिएको परीक्षाको अन्तरवार्ता उनैका कारणले ढिला हुँदा पुस २६ गतेबाट सुरु हुने भएको छ ।

यथार्थमा भन्दा भण्डारी कोषमा प्रवेश गरेसँगै विकृतिहरू बढ्न थालेको आरोप कर्मचारीहरूले लगाउन थालिसकेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स