१५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सप्तकोशी विकास बैंकका सीईओ सुवेदी पक्राउ

काठमाडौं । सप्तकोशी विकस बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो ।

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट पत्ता लागेको थियो । यसअघि बैंकले रकम हिनामिनाको उजुरी परेपछि प्रहरीले रेमिट शाखाको जिम्मेवारी सम्हालेका हिमाल भट्टराईलाई पक्राउ गरेको छ ।

बैंकका अनुसार रेमिट्यान्सको रकम बैंकको पार्किङ एकाउन्टमा जम्मा हुन्छ । रेमिट्यान्सको पार्किङ एकाउन्टबाट सम्बन्धित धनीलाई वितरण गरिन्छ । प्रहरी स्रोतका अनुसार रेमिट्यान्स फाँटका कर्मचारी भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदी दाजुभाई मामा–फूपूका छोरा हुन् ।

१५ करोड रुपैयाँ बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताएका छन् ।

पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको बैंकको प्रारम्भिक अनुमान गरिएको छ । यो रकम अझै बढी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । अनुसन्धान अझै जारी भएको प्रहरीले बताएको छ । यो रकम अझ बढी पनि हुन सक्ने प्रहरीको अनुमान छ ।

बैंकको उजुरीपछि प्रहरीले मंसिर तेस्रो साता भट्टराईलाई पक्राउ गरेको थियो । रकम हिनामिना प्रकरणको राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालय मोरङ र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अनुसन्धान गरिरहेको छ ।

राष्ट्र बैंकले एक साता लगाएर गरेको अनुसन्धानले पनि रकम हिनामिना प्रकरणमा एउटै व्यक्तिमात्र संलग्न नभएको देखाएको छ । बैंकभित्र र बाहिरबाट पनि संलग्नता रहेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स