आईएफआईसीको सेयर श्रीमतीको नाममा किनेर बंगलादेश बैंकलाई नबिलमा गाभ्ने विनोद चौधरीको तयारी

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जर हुने पक्का भएको छ । सम्भवत यसै साता दुबै बैंकबीच मर्जरका लागि आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको नबिल बैंकका एक सञ्चालकले हाम्रोअर्थसँग बताए ।

स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको मुख्य शेयर स्वामित्व रहेको आईएफआईसी बैंकतर्फको सेयर बैंकका प्रमोटर विनोद चौधरीले श्रीमती सारिक चौध्रीको नाममा खरिद गर्ने रणनीति बनाएका छन् । आईएफआईसीको सेयर चौधरी परिवारको स्वामित्वमा आए नबिललाई नेपाल बैंगलादेश गाभ्न सहज हुने ती सञ्चालकको भनाइ छ ।

यसका लागि आईएफआईसीको नाममा रहेको सेयर चौधरीले श्रीमती सारिका चौधरीको नाममा खरिद गर्ने छन् । बंगलादेश बैंकमा आईएफआईसीको ४०.८९ प्रतिशत सेयर रहेको छ । यो सेयर उसले बंगलादेश बैंककै सञ्चालकलाई बिक्री गर्न चाहेको थियो । दुगड ग्रूपले उक्त सेयर खरिद गर्न खोजेको थियो । तर, यसमा राष्ट्र बैंकले भाँजो हालेपछि दुगड ग्रुप पछि हटेको छ ।

यस अघि नबिलले सनराइज बैंकसँग मर्जरको कुरा अघि बढाएको थियो । सनराइजसँग कुरा नमिलेपछि चौधरीले श्रीमतीको नाममा आईएफआईसीको सेयर खरिद गरेर नेपाल बंगलादेश बैंक गाभ्न लागेका हुन् । नबिल र नेपाल बंगलादेशबीचको मर्जरको विषय अहिले आईएफआईसी बैंकको सेयर खरिद बिक्री नै टुंगोमा पुर्याउने छ ।

सारिका चौधरीको नाममा आईएफआईसीको सेयर आएसँगै यी दुई बैंकको मर्जर प्रक्रिया अघि बढ्ने छ । यहि विषयलाई लिएर ३ साताअघि बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतसहितको टोली बंगलादेश गएर फर्किएको हो ।

चोधरी गू्रपले सेयर खरिद गरेपछि मर्जरमा जानको लागि दुबै बैंकको आफ्नो सम्पती मूल्यांकन (डीडीए) गराउने छन् । डीडीएको रिपोर्टले पछि सेयर रेसियो कति हुने भन्ने विषयमा छलफल हुनेछ ।

बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवाली यो कामका लागि जुटेका छन् ।

नबिल बैंक अहिलेसम्म देशकै अब्बल र नम्बर एक बैंक मानिन्छ । उक्त बैंकसँग गाभिदा बंगलादेश बैंकका सञ्चालकहरुलाई पनि फाइदा नै हुन्छ ।

पछिल्लो समय नबिल बैंकसँग मर्जर हुने भनेर विभिन्न बैंकहरुको नाम पनि आइरहेको छ । नबिलले यसअघि नेपला क्रेडिट एण्ड कमर्श र सिभिल बैंकलाई एक्वायर गर्ने हल्ला चलेको थियो ।

चौधरीको योजना अनुसार आईएफआईसीको सेयर सारिका चौधरीको नामा आए नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर निश्चित प्राय हुनेछ ।

वित्तीय अवस्था

चुक्ता पुँजीको आधारमा नेपाल बंगलादेश बैंकको तुलनामा नबिल बैंक अघि छ ।

नबिल बैंकको चु्क्त पुँजी १३ अर्ब ८४ करोड ४४ लाख ५० हजार ३०४ रुपैयाँ छ । नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर वितरण गर्दै छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ४ अर्ब ६५ करोड १७ लाख ३५ हजार ३०२ रुपैयाँले वृद्धि हुनेछ । त्यसपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८५ हजार ६०६ रुपैयाँ पुग्नेछ ।

बैंकले १३५ वटा शाखा कार्यालय र १८८ वटा एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड ५४ लाख ५७६ रुपैयाँ छ ।

बैंकले चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्दै छ । बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड २ लाख ४८ हजार ६९ रुपैयाँले वृद्धि हुनेछ । त्यसपछि बैंकको चुक्ता पुँजी ११ अर्ब २९ करोड ५६ लाख ४८ हजार ६४५ रुपैयाँ पुग्नेछ ।

बैंकले १०० वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर र ८४ वटा एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

यदि यी दुई बैंकबीच मर्जर भएमा चुक्ता पुँजी २९ अर्ब ७९ करोड १८ लाख ३४ हजार २५१ रुपैयाँ पुग्नेछ ।

मंगलबार नबिल बैंकको सेयर प्रति कित्ता १४८० रुपैयाँ र नेपाल बंगलादेश बैंकको सेयर प्रति कित्ता ३६९ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स