निक्षेपको तुलनामा ११ गुणा बढ्यो कर्जा विस्तार

काठमाडौं । लगानी योग्य पुँजीको समस्या भोगिरहेका बैंकमा निक्षेप घट्न शुरु भएको छ । पुस २ गते वाणिज्य बैंकहरुसँग ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर पुस ९ गते आइपुग्दा उक्त निक्षेप ४ अर्ब रुपैयाँले घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप घटेपनि बैंकहरुले कर्जा प्रवाहभने जारी नै राखेका छन् । एक सातामा बैंकहरुबाट ३ अर्ब कर्जा प्रवाह भएको छ । गत पुस २ गते बैंकहरुले ४० अर्ब ८५ अर्ब कर्जा प्रवाह गरेका थिए भने पुस ९ गते उक्त रकम ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

कोरोना महामारीका कारण गत आव आर्थिक गतिविधि न्युन हुँदा बैंकहरुमा निक्षेप संकलन बढेको थियो । चालु आवको सुरुवातदेखि नै आर्थिक गतिविधि बढेकाले बैंकहरुमा बचत गर्ने भन्दा पनि कर्जा माग उच्च छ ।

चालु आवको करिब साढे ५ महिनाको अवधिमा निक्षेपको तुलनामा कर्जा प्रवाह ११ गुणाले बढेको छ । यो अवधिमा बैंकहरुले ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३ खर्ब ८२ अर्ब कर्जा प्रभाव गरेका छन् ।

गत असारमा बैंकहरुसँग ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त अवधिमा जम्म ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

रेमिट्यान्समा कमी र सरकारी पुँजीगत खर्च हुन नसक्दा पनि बैंकहरुको निक्षेपमा सुधार आउन सकेको छैन । यसले गर्दा बैंकहरुलाई थप लगानी गर्न समस्या भइरहेको छ । अर्थमन्त्रलायले हाल स्थानीय तहको कोषमा रहेको रकमलाई पनि बैंकहरुको निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेको छ । यसले बैंकहरुलाई केही राहत प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स