बैंकले ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीको आक्रोश, फिर्ता लिन आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुावालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् ।

कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन । लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन महासंघले आग्रह समेत गरेको छ ।

‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझ खासगरी साना तथा मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ ।’

अच्काली बढाइएको ब्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स