१ खर्ब ५७ अर्ब पुनरकर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा हालसम्म १ खर्ब ५७ अर्ब ७४ करोड रुपैयाँ पुनरकर्जा सुविधा प्रदान गरेको छ ।

राष्ट्र बैंकले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको चौथो महिनासम्ममा १ खर्ब ५७ अर्ब ७४ करोड रुपैयाँ बराबरको पुनरकर्जा उपलब्ध गराएको हो ।

जसमा साधारण पुनरकर्जातर्फ ११ हजार ३५७ ऋणीलाई १ खर्ब ५ अर्ब ८८ करोड रुपैयाँ प्रवाह गरिएको छ । गत आर्थिक वर्षसम्म यस्तो पुनरकर्जा ११ हजार २९६ ऋणीलाई ९८ अर्ब ७५ करोड रुपैयाँ प्रवाह भएको थियो । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा साधारण पुनरकर्जा ६१ ऋणीलाई ७ अर्ब १३ करोड रुपैयाँ प्रवाह भएको छ ।

विशेष पुनकर्जा २ हजार ५१ ऋणीलाई १६ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको छ ।

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा ३५ हजार ५५४ ऋणीलाई ३५ अर्ब ३८ करोड प्रवाह भएको छ । चालु आर्थिक वर्षमा यस्तो कर्जा प्रवाह नभएको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

पुनरकर्जाको ब्याजदर

राष्ट्र बैंकले पुनरकर्जा साधारण, विषेश र लघु, घरेलु तथा साना उद्यममा वर्गीकरण गरी सोही अनुसार ब्याजदर निर्धारण गरेको छ ।

यस्तो पुनरकर्जा राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई वर्गीकरण गरी सोहीअनुसार पाउने प्रवधान गरेको छ । कोभिड प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून गरी वर्गीकरण गरिएको छ । अति प्रभावित क्षेत्रलाई विषेश पुनरकर्जा र मध्यम र न्यून प्रभावितलाई साधारण पुनरकर्जा प्रवाह गरिन्छ भने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंक वा बैंकहरुले मूल्यांकनको आधारमा प्रवाह गर्छ ।

बिषेश पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

साधारण पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशत ब्याजदरमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशतमा र लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

कसरी प्रदान गरिन्छ पुनरकर्जा 

एकमुष्ठ पुनरकर्जामा बैंक तथा वित्त कम्पनीबाट ग्राहकबाट प्राप्त आवेदनको आधारमा ऋणीको संख्यासहित पुनरकर्जा मागको राष्ट्र बैंकले स्वीकृत गर्छ । स्वीकृत पुनरकर्जा बैंकले ऋणीको व्यवसायीक योजना र आवश्यकता मूल्यांकन गरी प्रदान गर्छ ।

ग्राहक ऋणीअनुसारको पुनरकर्जामा बैंक तथा वित्त कम्पनीले ग्राहकऋणीले दिएको आवेदनलाई राष्ट्र बैंक पठाउछन् । सोे आवेदनको मूल्यांकन गरी राष्ट्र बैंकले माग गरिएको पुनरकर्जा प्रदान गर्छ । जस राष्ट्र बैंकले वर्गीकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुुदानमा उपयोग गर्न पाउँछन् ।

पुनरकर्जा सुविधा प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाको पुरानो ऋणी हुनुपर्ने छ । सोही ऋणको पहिले निर्धारित ब्याजदरमा पुनरकर्जा सुविधा पाउने ऋणीले ब्याजदर छुट पाउँछन् । जसमा एकमुष्ट पुनरकर्जा १ वर्षका लागि हुन्छ भने सोको नवीकरण हुँदैन । तर ग्राहक ऋणी मूल्यांकलको आधारमा दिइने पुनरकर्जा ६ महिनाको अवधिलाई दिएर पुनः ६ महिना नवीकरण हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स