अझै टुङ्गो लागेन मौद्रिक नीति, राष्ट्र बैंक भन्छ ‘उचित समयमा वित्तीय व्यवस्थालाई सन्तुलन राख्ने गरी ल्याउँछौ’

काठमाडौं । साउनको तेस्रो साता बित्न लागेको छ । ढिलोमा पनि साउनको दोस्रो सातासम्म सार्वजनिक भइसक्ने मौद्रिक नीति यस वर्ष भने अझै मौद्रिक नीति आउने मितिको टुंगो लाग्न सकेको छैन ।

विशेषत बजेटलाई सपोर्ट गर्ने गरी वित्तीय बजारलाई व्यवस्थित तथा सन्तुलित गर्ने गरी मौद्रिक नीतिका सिद्धान्त तथा प्राथमिकताका क्षेत्रहरू निर्धारण हुने हो । बजेटपछि नयाँ सरकार आएका कारण चालु आवको बजेट कै टुंगो लाग्न सकेको छैन । बजेटकै टुंगो नलागेपछि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन नसकेको हो ।

यसअघि चाँडोमा भोलि शुक्रबार र ढिलोमा आइतबार मौद्रिक नीति ल्याउने भनिए पनि नयाँ अर्थसचिव आएपछि मौद्रिक नीति केही समय पछि धकेलिने निश्चित भएको छ ।

आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको भएपनि मौद्रिक नीति कहिले आउने भन्ने विषयमा कुनै टुंगो नलागेको राष्ट्र उच्च स्रोतले जानकारी दिएको छ । आज बिहानको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले अर्थसचिव नयाँ आउनु भएकोले केही समयका लागि मौद्रिक नीति पर धकेलिने निष्कर्ष निकालेको छ ।

‘मौद्रिक नीतिका कतिपय विषयमा छलफल पनि गर्नुपर्ने देखिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ‘नयाँ सचिव आएका र अर्थसमितिले समेत मौद्रिक नीतिका विषयमा छलफल गर्न चाहेको छ । अर्थसचिव अर्थात सिंगो अर्थ मन्त्रालयको मार्गनिर्देश र अर्थ समितिको राय, सल्लाह सुझावलाई समेत समेटेर मौद्रिक नीति आउने भएको हो ।

सरकारले बजेट संशोधन गर्न र आर्थिक वृद्धिको लक्ष्य परिमार्जन हुन सक्ने भएकोले मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले नै हतार नगरेको उल्लेख गरेको छ । अर्थसचिव पनि नयाँ आउनु भएको र प्रतिनिधिसभा संसद अन्तर्गतको अर्थ समितिले शुक्रबार ११ बजे मौद्रिक नीतिको बारेमा छलफल गर्न राष्ट्र बैंकलाई बोलाएको छ ।

अर्थमन्त्री जनर्दन शर्माले भने मौद्रिक नीति आफूले नरोकेको र कुनै हस्तक्षेप नगरेको नेपाल आर्थिक पत्रकार संघ ‘नाफिज’ सँगको भेटमा बताइसकेका छन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने उचित समयमा देशको आवश्यकता अनुसारको मौद्रिक नीति आउने बताए । ‘अहिले मौद्रिक नीतिका विषयमा थप छलफल भइरहेको छ,’ उनले भने ‘तर सार्वजनिक गर्ने मिति भने तोकिएको छैन ।’

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले मौद्रिक नीति नआएपनि हामीलाई काम गर्न वा दैनिक कार्य सम्पादन गर्न अप्ठ्यारो नपरेको स्पष्ट पारे । ‘राष्ट्र बैंकले यहि साउन ११ गते नै निर्देशन जारी गरिसकेको छ,’ उनले भने ‘निर्देशन नै नआएको भएपनि बैंकले दैनिक गर्ने कार्यसम्पादनमा कुनै असर पर्ने थिएन ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स