तरलता व्यवस्थापन गर्न बैंकहरूले राष्ट्र बैंकसँग लिए बिहीबारमात्रै पौने ४० अर्ब

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता संकट देखिएपछि बैंकहरुले दैनिक तरलता व्यवस्थापन गर्न स्थायी तरलता सुविधा (एसएलएफ) को प्रयोग गरिरहेका छन् । तरलता व्यवस्थापन गर्न बैंकहरूले राष्ट्र बैंकसँग लिए बिहीबारमात्रै पौने ४० अर्ब रुपैयाँ सापटी लिएका हुन् ।

आज बिहीबार बैंकहरुले राष्ट्र बैंकबाट ३९ अर्ब ६४ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् । बिहीबार १८ कारोबार मार्फत ३९ अर्ब ६४ करोड रुपैयाँ एसएसलएफको प्रयोग गरेका हुन् ।

मंगलबार ५४ अर्ब ५५ करोड रुपैयाँ बराबरको एसएलएफ उपयोग गरेका बैंक बुधबार घटेर १८ अर्ब ८७ करोडमा झरेको थियो । बिहीबार पुनः पौने ४० अर्ब बराबरको एसएलएफ उपयोग भएको राष्ट्र बैंकले बताएको छ ।

वित्तीय बजारमा तरलता अभाव हुँदा बैंकहरू कर्जा दिन नसक्ने अवस्थमा पुगेका छन् । बैंकहरुले तरलता व्यवस्थापनका लागि नै नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत दरको सापटी रकम प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।

बैंक वित्तीय संस्थामा नयाँ निक्षेप थपिनुको सट्टा उल्टै बैकिङ प्रणालीमा भएको निक्षेप समेत झिकेपछि बैंकहरू यस्तो सुविधा प्रयोग गर्न बाध्य भएका हुन् ।

निक्षेप अभावका कारण बैंकहरुले तरलता व्यवस्थापनका लागि अन्तर बैंक कारोबार गर्न छोडेको नै महिनौं भैसकेको छ । अन्तर बैंक कारोबारमा लिने मात्र बैंकहरु भएपछि नेपाल राष्ट्र बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधा तर्फ बैंक वित्तीय संस्थाहरु लागेका हुन् ।

कर्जा लगानी योग्य रकमको पनि संकट देखिन थालेको छ । मंसिर १४ गतेको तुलनामा १५ गते एक अर्ब निक्षेप बढ्दा कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ ।

बैंक वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दात कायम गर्नका लागि नै चालु आर्थिक वर्षयता २० खर्ब १६ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले साउनमा ५५ अर्ब ५५ करोड, भदौमा २ खर्ब ९६ अर्ब ७४ करोड, असोजमा ४ खर्ब ७० अर्ब ३८ करोड ५० लाख, कार्तिकमा ७ खर्ब २४ अर्ब ३७ करोड ५० लाखको स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

मंसिरको १६ दिनमा बैंकहरुले ४ खर्ब ६९ अर्ब ६ करोड २० लाख रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स