काठमाडौं । गरिमा विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । बैंकले आज अर्थात मंसिर १६ गतेदेखि ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस १ गतेसम्म लम्बिनेछ । सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।