काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उदेश्यको साथ उक्त कार्यक्रमको सुरुवात गरेको हो ।
यस मार्फत बैंकले स्थानिय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सिप र वित्तिय सहयोग प्रदान गर्नेछ ।
यस अन्तर्गत कम्पनीले पहिलो चरणमा सातै प्रदेशको एकएक वटा विद्यालयसँग सम्झौता गरेको छ । यस कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न सहयोग गर्नेछ ।
फेलोशिप कार्यक्रम आवसीय तालिममा आधारित हुनेछ जसको लागि बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।
कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।