काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ । तेस्रो त्रैमास सुरु भएपछि पहिलो कारवाही गरेको हो ।
प्रभु बैंकलाई मुख्य ४ वटा विषयलाई लिएर सचेत गराएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराइएको हो ।
राष्ट्र बैंकको भनेको छ, ‘वार्षिक साधारण सभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने भएतापनि बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोहि वार्षिक साधारण सभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता देखिएको छ ।’
त्यसका साथै बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भएतापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफु अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएका समेृत बताएको छ ।
प्रभु बैंकले निजलाई संचालक पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन नदिएको समेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।
स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको समेत राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको देखिएको छ ।
कर्जाहरूमा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन बैंकको हकमा यस बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बँुदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गगराएको जनाइएको छ ।
एनआईसी एशिया बैंक लिमिटेडको हकमा नेपाल राष्ट्र बैंकले यस बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको भेट्टाएको छ ।
त्यस्तै गरि बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराईएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत . रोशन कुमार न्यौपाने, अध्यक्ष श्री तुलसीराम अग्रवाल, संचालक . त्रिलोकचन्द्र अग्रवाल तथा संचालक . रामचन्द्र संघाइलाई सच्याउन निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट एनआईसी एशिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको छ ।
यसलाई पनि सच्याउन बैंकले लिखित निर्देशन दिएको छ ।
यस बैंकले व्याजदर सम्बन्धी यस बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन यस बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था यस बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा नेपाल राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न÷गराउन तथा सुधारको कार्ययोजना बनाई लागु समेत राष्ट्र बैंकले निर्देशन दिएको हो ।