काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल चयन भएको छन् । आज शुक्रबार भएको साधारणसभाले उनलाई निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो ।
लामो समय बैकिङ क्षेत्रमा कार्यरत रहेर अहिले उनी नबिल बैंकमा अध्यक्ष बनेका छन् । साधारणसभाले सीबीफीनको वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्याय र उपाध्यक्षमा कुश प्रसाद मल्ली चयन गरेको छ । यस्तै, महासचिवमा प्रचण्ड बहादुर श्रेष्ठ पनि निर्विरोध चयन भएको सिविफिनले जनाएको छ ।
अन्य पद निर्विरोध चयन भए पनि सचिवमा भने निर्वाचन भएको थियो । निर्वाचन मत परिणाम अनुसार साइन रेसुङ्गाका अध्यक्ष थानेश्वर पौडेल बिजयी भएका छन् । उनले ३२ मत प्राप्त गरि सचिवमा निर्वाचित भएका हुन् । कुल ५५ मत खसेको थियो ।
समितिको कोषाध्यक्षमा तुलसीराम अग्रवाल र सहकोषाध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । सदस्यहरुमा डा. बाल गोपाल वैद्य, राजाराम खड्का, रमण नेपाल, सुदिप आचार्य चयन भएका छन् ।