काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा ठूलै समस्या देखा परेको छ । विगतदेखि नै नेपाल राष्ट्र बैंकको निगरानीमा परेको यस बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाह रोक्न आधिकारीक सूचना जारी गरेको हो ।
यस अघि नै राष्ट्र बैंकको संचालक समितिले रोक्ने निर्देशन जारी गर्ने निर्णय गरेको थियो । आज राष्ट्र बैंकले सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, ‘कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बांकेमा मिति २०६१।०४।०६ देखि २०६१।०४।११ सम्म यस बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोके बमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा अनुपात ४०,८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको ।’
समस्या उन्मुख देखिएको भन्दै निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली बमोजिम निर्देशन जारी गरिएको बताइएको छ ।
६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा राखिएको छ । जुन आज देखि लागू हुने हुँदै छ ।
यसरी राष्ट्र बैंक कर्णाली विकास बैंकप्रति हस्तक्षेपको बाटोमा अघि बढ्नुमा भने मुख्य दुई विषय देखिएको छ ।
पहिलो विषय बैंकको वित्तिय अवस्था नै कमजोर भएको छ । जसकारण बैंकको सूचकहरु राष्ट्र बैंकको तोकेको मापदण्डअनुसार पुरा गराउन संचालन समितिबाटै निर्णय भएर निर्देशन जारी भएको हो ।
दोस्रो कारण भनेको बैंक केहि नियमविपरितको काम समेत देखिएको र संचालक समिति तथा व्यवस्थापकिय टिमबाट ठूला कमजोरीहरु भएका छन् । कर्जा प्रवाह नै गर्न नमिल्ने व्यक्ति तथा कम्पनीहरुलाई कर्जा दिइएको छ । त्यस्तै गरि भाकामा समेत कर्जा नउठाइएको र सोही अनुसारको प्रक्रिया अघि नबढाइएको देखिएको छ । त्यसकारणले पनि राष्ट्र बैंक हस्तक्षेपको बाटोमा अघि बढेको बताइएको हो ।