काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।
गत असार मसान्तसम्ममा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन महिनामा नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति १९ खर्ब ८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । गत असोज मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।