काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन ‘फेडरेशन अफ इलेक्ट्रिकल इन्ट्राप्रेनियर अफ नेपाल’बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
कार्तिक २८ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र ‘फेडरेशन अफ इलेक्ट्रिकल इन्ट्राप्रेनियर अफ नेपाल’ को तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात् ‘फेडरेशन अफ इलेक्ट्रिकल इन्ट्राप्रेनियर अफ नेपाल’ले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ र सो संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंकबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आर्कषक व्याजदर योजनाअन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेतप्राप्त गर्नेछन् ।
सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्कसमेत स्थापना गरी कार्य गर्नेछ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।