कर्णाली विकास बैंकलाई नयाँ बैंकिङ कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन, तत्काल निक्षेप संकलन र कर्जा प्रवाह रोकिने

काठमाडौं । कर्णाली विकास बैंकलाई कर्जा प्रवाह र निक्षेप संकलन नै नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । बैंकमा समस्या रहेको भन्दै नेपाल राष्ट्र बैंकले तत्कालको लागि नयाँ कारोबार नै नगर्न भनेको हो ।

नेपालमा हरेक क्षेत्र कमजोर भैरहँदा बैंक तथा वित्तिय संस्था अहिलेसम्म सबल नै रहेको विश्लेषण हुने गरेको छ । तर ‘ख’ वर्गको विकास बैंकमै ठूलो समस्या देखिएको छ । विगत वर्षदेखि नै नाफामा गिरावट आएको यस बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समेत घाटामा देखिएको छ ।

बैंकमा ठूलै समस्या देखिएपछि नेपाल राष्ट्र बैंक समेत हस्तक्षेपको बाटोमा अघि बढेको हो ।
नेपाल राष्ट्र बैंकको आइतबार बसेको संचालक समिति बैठकले उक्त बैंकलाई निक्षेप संकलन तथा कर्जा प्रवाह नै रोक्न निर्देशन दिएको हो । बैंकलाई नयाँ कारोबार नगर्न र पुरानो हरहिसाब मिलान गर्न भनेको छ ।
आइतबारको बोर्ड बैठकले कर्णाली विकास बैंकलाई ६ महिना भित्र सुधारको कार्ययोजना ल्याउन निर्देशन दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबारको संचालन समिति बैठकले कर्जा र निक्षेपको नयाँ काम नै नगर्न भन्नुको मतलव अब समस्याग्रस्त घोषणा गर्ने अवस्थामा पुगेको हो ।

सोहि अनुसारको पत्र समेत उक्त बैंकलाई प्रदान गरिसकिएको उनले जानाकारी दिए ।
पहिला अध्यक्ष र सीईओलाई ५\५ लाख रुपैयाँ जरिवानाको कारवाही गरेपनि जरिवाना रकम नतिरेको समेत राष्ट्र बैंकले जनाएको छ ।

यसरी राष्ट्र बैंक कर्णाली विकास बैंकप्रति हस्तक्षेपको बाटोमा अघि बढ्नुमा भने मुख्य दुई विषय देखिएको छ ।
पहिलो विषय बैंकको वित्तिय अवस्था नै कमजोर भएको छ । जसकारण बैंकको सूचकहरु राष्ट्र बैंकको तोकेको मापदण्डअनुसार पुरा गराउन संचालन समितिबाटै निर्णय भएर निर्देशन जारी भएको हो ।

दोस्रो कारण भनेको बैंक केहि नियमविपरितको काम समेत देखिएको र संचालक समिति तथा व्यवस्थापकिय टिमबाट ठूला कमजोरीहरु भएका छन् । कर्जा प्रवाह नै गर्न नमिल्ने व्यक्ति तथा कम्पनीहरुलाई कर्जा दिइएको छ । त्यस्तै गरि भाकामा समेत कर्जा नउठाइएको र सोही अनुसारको प्रक्रिया अघि नबढाइएको देखिएको छ । त्यसकारणले पनि राष्ट्र बैंक हस्तक्षेपको बाटोमा अघि बढेको बताइएको हो ।

तर बैंकका कम्लायन्स हेड इन्द्रजित घर्तिमगरले भने बैंकले अहिले निक्षेप र कर्जा प्रदानको काम गरिरहेको बताउँछन् । राष्ट्र बैंकको निर्देशन के भएको छ त्यो जानकारीमा आइसकेको छैन । उनी भन्छन्,‘ हामी अहिले बैंकिङ कारोबार गरिरहेका छौं।’

कर्णाली विकास बैंकको संचालक समितिको अध्यक्ष अहिले ओम प्रकाश मिश्र रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा निरजबिक्रम शाह रहेका छन् ।

कस्तो छ त बैंकको वित्तिय अवस्था ?
क्षेत्रिय विकास बैंकको लाइसेन्स पाएको यस बैंकको वित्तिय अवस्था कमजोर नै देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार तीन महिना अवधीमा बैंक १ करोड ९८ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । ५० करोड २८ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस बैंकको ५ अर्ब २१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन रहेको छ भने ३ अर्ब ८१ करोड ५५ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । जगेडा कोषमा १९ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ २० करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ७ दशमलव २७ प्रतिशत रहेको बैंकले सर्वाजनिक गरेको वित्तिय विवरणले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स