काठमाडौं । नाडा अटो शो २०२४ मा १५ अर्ब रुपैयाँको सवारी साधन बुकिङ भएको छ । नाडा अटो शोमा ३ हजार ६०० चार पाङ्ग्रे र ६०० दुई पाङ्ग्रे गरी ४ हजार २०० सवारी साधन बुकिङ भएको नाडा अटोमोबाइल एसोसिएन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बताए ।
नाडा अटो शोमा देखिएको आकर्षणले देशमा आर्थिक अवस्था राम्रो हुँदै गएको आँकलन सहजै गर्न सकिन्छ । जसले गर्दा अटो व्यवसायीमा उत्सुकता थपेको छ ।
‘अटो शो भरि ग्राहकले देखाएको उत्सुकताले देशमा आर्थिक शिथिलता नभएको भान भएको छ’, उपाध्यक्ष श्रेष्ठले भने ‘गाडीमा ग्राहकको क्रेज बढ्दो छ । समग्रमा नाडा अटो शो सोचेभन्दा राम्रो भएको छ ।’
अटो शोमा डङ्फेङको नामी, टाटाको पन्च ईभी, डिपल, महिन्द्राको एक्सयुभी तथा स्कोरपियो, हुण्डाईको क्रेटा, बीवाईटी, लिपमोटर, ओमोडा तथा जेको जे ६, सेरेसलगायत गाडी बढी बुकिङ भएको नाडाले जनाएको छ ।
दुई पाङ्ग्रेतर्फ रोयल इन्फिल्ड, यामाहा, ट्राइम्फ, हिरो, बजाज, एथर, सीएफमोटोलगायतका बाइक बुकिङ भएको छ ।