काठमाडौं । नेपालमा दुई पाङग्रे सवारी प्रतिको आकर्षण उच्च छ । युवा होस वा पाको उमेर समूह, सबैको रोजाइमा मोटरसाइकल छन् । नेपालमा बजाज, होण्डा, सुजुकी, टीभीएस, यामाहा, हिरोलगायत कम्पनीका दुई पाङग्रे सवारी साधन लोकप्रिय छन् ।
यातायात व्यवस्था विभागका अनुसार २०७७ फागुनसम्म मुलुकभर ३९ लाख ८७ हजार २६७ सवारी दर्ता छन् । जसमा दुई पाङग्रे सवारीको हिस्सा उच्च छ । यो अवधिमा दुई पाङग्रे ३१ लाख ६० हजार ६२३ दर्ता छन् । कुल सवारीको हिस्सामध्ये दुई पाङग्रेको हिस्सा ८० प्रतिशत छ ।
यी कम्पनीहरुले आफ्नो लोकप्रियता कायम राख्न ग्राहकको बजेट अनुसारको मूल्यमा विभिन्न मोडलका मोटरसाइकल बजारमा बिक्री वितरण गरिरहेका छन् । काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, धरान, इटहरी, विरगञ्जलगायत तराईका अधिकांश क्षेत्रमा मोटरसाइकल र स्कुटरको माग उच्च छ ।
कोरोना भाइरसको प्रकोपसँगै सार्वजनिक यातायातभन्दा पनि मानिसहरुको निजी सवारीमा आकर्षण धेरै छ । साथै कोभिड रोकथामका लागि सरकारले सार्वजनिक यातायात सञ्चालन समय समयमा बन्द पनि गर्दै आएको छ । निजी सवारी हुनेले अत्यावश्यक कामका लागि जिल्ला प्रशासान कार्यालयको स्वीकृतिमा सवारी चलाउन पाउँछन् ।
त्यस्तै सवारी जामको समस्याले पनि दैनिक कामकाजी व्यक्तिलाई दुई पाङग्रे सवारी सहज बनेको छ ।
यस्ता छन् नेपाली बजारमा उपलब्ध २ लाखभन्दा सस्ता मोटरसाइकल
हिरो एचएफ डिलक्स डीआरएस
हिरो एचएफ डिलक्स डीआरएस एअर कूल्ड ४ मा स्टोक सिंगल सिलिन्डर ओएचसी ९७.२ सीसीको इन्जिन छ । यो इन्जिनले ५.९ किलोवाटमा ८००० आरपीएमको उच्चम पावर र ८.०५ एनएममा ६००० आरपीएम उच्चम टर्क जेनेरेट गर्छ । नेपालका लागि हिरोका आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले हिरो एचएफ डिलक्स डीआरएसको मूल्य १ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।
हिरो स्प्लेन्डर प्लस
हिरो स्प्लेन्डर प्लसमा सिंङल सिलिन्डरमा एयर कुल्ड ९७.२ सीसी इन्जिन छ । यो इन्जिनले ८ हजार आरपीएममा ७.८ अधिकतम बीएचपी पावर र ६ हजार आरपिएममा ८.०५ एनएम टर्क जेनेरेट गर्छ ।
हिरो स्प्लेन्डर प्लसको मूल्य १ लाख ८९ हजार रुपैयाँ तोकिएको छ ।
हिरो स्प्लेन्डर आई स्मार्ट ११०
हिरो स्प्लेन्डर आई स्मार्ट ११० मा सिंगल सिलिन्डर, एयरकुल्ड ११३ सीसीको इन्जिन छ । यो इन्जिनले ९ एचपी पावर र ९.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ९.५ लिटरको इन्धन ट्यांकी छ ।
हिरो स्प्लेन्डर आई स्मार्ट ११० को मूल्य १ लाख ८३ हजार रुपैयाँ तोकिएको छ ।
होण्डा सीडी ड्रिम डीएलएक्स
होण्डा सीडी ड्रिम डीएलएक्समा एक सिलिन्डर १०९.५५ सीसीको इन्जिन छ । यो इन्जिनले ८.७९ पीएस पावर र ९.३० टर्क जेनेरेट गर्छ ।
नेपालका लागि होण्डा मोटरसाइकल र स्कूटरको आधिकारिक विक्रेता तथा ज्योति ग्रूपको अग्रणी कम्पनी स्याकार ट्रेडिङ कम्पनी प्रालिले होण्डा सीडी ड्रिम डीएलएक्सको मूल्य १ लाख ९१ हजार ९०० रुपैयाँ तोकेको छ ।
बजाज प्लाटिना १०० ईएस
बजाज प्लाटिना १०० ईएसमा डीटीएस–आई, सिंगल सिलिन्डर १०२ सीसीको इन्जिन छ । यो इन्जिनले ७.९ एचपीको पावर र ८.३ एनएमको टर्क जेनेरेट गर्छ ।
नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज प्लाटिना १०० ईएसको मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ तोकेको छ ।
टीभीएस रेडियन
टीभीएस रेडियनमा ४ स्टोक दूरा लाइफ १ सिलिन्डर १०९.७ सीसीको इन्जिन छ । यो इन्जिनले ८.१९ पीएसमा ७३५० आरपीएम अधिकतम पावर र ८.७ एनएममा ४५०० आरपीएम अधिकतम टर्क जेनेरेट गर्छ । टीभीएसको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस रेडियनको मूल्य १ लाख ८६ हजार ९०० रुपैयाँ तोकेको छ ।
सुजुकी हायते
सुजुकी हायतेमा सिंगल सिलिन्डरमा ४ स्टोक, २ भल्भ, एसओएचसी ११३ सीसी इन्जिन छ । यो इन्जिनले ८.७ बीएचपीमा ७५०० आरपीएम अधिकतम पावर र ९.३ एनएममा ५००० आरपीएम अधिकतम टर्क जेनेरट गर्छ । नेपालका लागि सुजुकी दुई पाङग्रेको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले सुजुकी हायतेको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।