कुमारी बैंकको समन्वयमा जय नेपाल र नक्साल भगवतीमा ट्राफिक लाइट जडान

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियान स्वरुप जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ । महाशाखाले जय नेपाल चोकमा का.म.न.पा, १ र नक्साल भगवतीमा कुमारी बैंकसँग समन्वयमा नयाँ ट्राफिक लाइट जडान गरेको हो ।

नयाँ जडान गरिएको जय नेपाल चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र का.म.न.पा. वडा नं –१ का वडाअध्यक्ष भरत लाल श्रेष्ठले स्वीच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन । नक्साल भगवतीको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र कुमारी वैंकका चिफ अपरेसन अफिसर राम चन्द्र खनालले गरेका हुन् ।

कार्यक्रममा एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा कामनपा – १ का वडा अध्यक्ष श्रेष्ठले ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको समेत प्रशंसा गरे ।

त्यस्तै, कुमारी बैंकका चिफ अपरेसन अफिसर रामचन्द्र खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए । महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३४ वटा चोकहरुमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स