काठमाडौं । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा होन्डा एलीभेट भित्र्याएको छ । कम्पनीले सो गाडी खरिद गर्ने पहिलो १० जना ग्राहकलाई कम्पनीले ७५ हजार अतिरिक्त छुट र निःशुल्क सर्भिस दिने भएको छ ।
कम्पनीले यो नयाँ एसयुभी लन्च कार्यक्रममा यस्तो अफर प्रदान गर्ने बताएको हो । चार भेरिएन्टमा नेपाल आएको एलीभेटको मूल्य ५६ लाख ३५ हजारदेखी ७९ लाख ४४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।
एलीभेट म्यानुअल र सीभिटी दुवै ट्रान्समिसनमा नेपाल आएको हो । यसको एसभी, भी, भीएक्स, र जेडएक्स चारवटै भेरिएन्टमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । म्यानुअलमा यसको एसभी भेरिएन्टलाई ५६ लाख ३५ हजार, भीलाई ६० लाख ३५ हजार, भीएक्सको ६६ लाख ९५ हजार र जेडएक्सको ७३ लाख ४४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सिभिटीमा भीको ६५ लाख ७० हजार, भीएक्सको ७१ लाख ९५ हजार र जेडएक्सको ७८ लाख ७० हजार तोकिएको छ । जेडएक्स सीभिटीलाई डुअल टोन विकल्पमा समेत उपलब्ध गराइएको छ । जसको मूल्य ७९ लाख ४४ हजार निर्धारण गरिएको छ ।
हुन्डाई क्रेटा र किया सेल्टोस जस्ता एसयूभीको प्रतिस्पर्धी बनेर आएको एलीभेटमा होन्डाले १.५ लिटर क्षमताको नेचुरल एस्पीरेटेड ईन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर र १४५ एनएम टर्क जेनेरेट गर्छ ।
एलीभेटको एक्सटेरियरमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ ।
यसैगरी इन्टेरियमा फराकिलो स्पेस, ठूलो साइजको हेड र लेग रुम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले र १०.२५ इन्चको हाइ डेफिनेसन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले पाउन सकिन्छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरुलाई उच्चस्तरीय ड्राईभिङ अनुभव दिने होन्डाले जनाएको छ ।
सुरक्षाका लागी यसमा होन्डा सेन्सिङ एडिएएस फिचर रहेको छ । साथै यसमा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामेरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामेरा, आइएसओ फिक्स र ६ वटा एयरब्याग दिइएको छ । यो एसयूभीको ग्राउन्ड क्लिरेयन्स सेग्मेन्टमै उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ । जुन २२० एमएम छ ।