काठमाडौं । चार वर्षपछि भएको ‘अटो शो–२०२३, मा ईभी गाडीमा ग्राहकको आकर्षण देखिदा पेट्रोल तथा डिजेलबाट चल्ने गाडी बिक्री गर्ने बिक्रेतामा भने त्यति उत्साह थप्न सकेको देखिएन । राज्यले लिएको विभेदकारी नीतिका कारण आफूहरूलाई व्यवसाय गर्न गाह्रो पर्दै गएको उनीहरू बताउँदै थिए ।
अटो शोमा भेटिएका चार पाङग्रे सवारी साधन सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीले राज्यले लिएको विभेदकारी नीतिका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूमा ग्राहकहरूको कम आकर्षण रहेको दुखेसो पोख्दै थिए ।
‘सरकारले नीति नबदलेसम्म अर्थात ईभीको जस्तै पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूमा पनि सहज फाइनान्सिकको व्यवस्था नभएसम्म पेट्राल तथा डिजेल गाडी बिक्रेतालाई गाह्रो छ,’ उनले भने ‘ईभी गाडीमा ८० प्रतिशतसम्म फाइनान्सिङ हुँदा यसमा ५० प्रतिशतमात्रै फाइनान्सिङको व्यवस्था छ ।’ स्वभाविक रुपमा ग्राहकहरू बैंकहरूले बढी फाइनान्सिङ गर्नेमा जान्छन् नि ?
चार वर्षपछि भएको अटो शोमा पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ग्राहकको आकर्षण कम हुनुको प्रमुख कारण भनेको सरकारको नीति नै भएको उनको ठम्याइ छ । सरकारले यस्ता सवारी साधनको लागि नीतिगत व्यवस्था खुकुलो पारिदिएमात्रै व्यापार गर्न सकिने भयो,’ नत्र कुरेर मात्रै बस्नु पर्ने दिन आए । पहिला पहिलाको अटो शोमा गाडी बुकिङको लागि मारामार हुन्थ्यो, अहिले उत्साह छैन । ईभीका राज्यको नीति खुकुलो हुँदा ग्राहकको घुइँचा पनि उतैछ ।
अटो शोमा रोजाइमा परेको सुजुकीको जिम्नीको यस्ता छन् विशेषता
अटो शो–२०२३ मा ईभी गाडीमा आकर्षण देखिए पनि पुरानो ब्राण्ड सुजुकीमा पनि ग्राहकहरूको उत्तिकै भिड लागेको थियो । सुजुकीले अटो शोमा राखेका गाडीहरूमध्ये जिम्नीमा ग्राहकको आककर्षण देखियो । सुजुकीले आफ्नो चारवटा एसयुभीलाई विशेष प्राथमिकतासाथ प्रदर्शनीमा राखेको थियो । जिम्नी, फ्रोङक्स, ब्रेजा र ग्रान्ड भिटारालाई सिजी मोटोकर्पले आफ्नो स्टलमा सजाएर राखेको हो । यी चार एसयूभीमध्ये दर्शकको आकर्षणमा भने जिम्नी पर्न सफल भएको छ ।
हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा बनेको कारण यसले जस्तोसुकै बाटोमा उत्कृष्ट पफर्मेन्स दिन सक्छ । यसको बाहिरी लुक्स एवं डिजाइन समेत निकै आकर्षक र स्पोर्टी रहेको देखिन्छ । यसमा दिइएको ५ स्लट क्रोम प्लेटेड ग्रिलले एक अव्वल अफरोड मेसिनका रुपमा चिनाउन मद्दत गरेको छ । यसमा अप्टिमाइज्ड बम्पर, प्राक्टिकल ड्रिप रेल, अलोय ह्विल्स, हेडल्याम्प वासर आदिका कारण यसको बाहिरी भाग फरक देखिन्छ ।
सन् १९७० मा पहिलो पटक बजारमा आएको जिम्नीको यो चौथो पुस्ता हो । जिम्नीमा सुजुकीले १.५ लीटरको ‘आइडल स्टार्ट स्टप’ विशेषता सहितको के–सिरिज पेट्रोल इन्जिन जडान गरेको छ । जिम्नीमा अधिकतम पावर १०४.८ पीएस र टर्क १३४.२ एनएम रहेको छ । फोर ह्विल ड्राइभ ड्राइभ सिस्टम दिइएको यो एसयूभीमा ५ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ ।
अफरोड बाटोको लागि उत्तम हुने गरी डिजाइन गरिएको जिम्नीमा २२.६८ सेन्टिमिटरको स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन् ।
जिम्नीमा सुजुकी आफैले विकास गरेको अल ग्रिप प्रो नामक अत्याधुनिक फोर ह्विल ड्राइभ प्रविधि छ, जसको कारण अफरोड र जस्तोसुकै सडकमा पनि यसलाई सहज तरिकाले गुडाउन सकिन्छ ।
जिम्नीको अर्को महत्वपूर्ण विशेषता तथा आकर्षण भनेको गाडीमा रहेको ५ वटा ढोका हो । यहि कारण पछाडिको सिटमा बस्ने यात्रुले सहजका साथ यात्रा गर्न सक्छन् । भित्री भागमा स्क्र्याच प्रतिरोधी सतह सहितको स्पोर्टी क्याविन, स्मार्ट प्ले प्रो, युटिलिटी किट, कम्फर्टेबल सिट डिजाइनले सबैको मन लोभ्याउछ ।
यसको ग्राउन्ड क्लिरियन्स २१० एमएम रहेको छ । यो एसयूभीमा फोर ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ । अफरोडकै लागि यसमा ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सई सस्पेन्स दिइएको छ ।
जिम्नीलाई अफरोडको साथै सिटी ड्राइभमा पनि उत्तिकै सहजताका साथ चलाउन सकिन्छ । यो अफरोड एसयूभी बुकिङ गर्ने ग्राहकको संख्या उल्लेख्य छ । कम्पनीले यसको जेटा र अल्फा भेरिएन्टमा नेपाल ल्याएको हो । जसको मूल्य क्रमश ५९ लाख ९९ हजार र ६४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।