काठमाडौं । टाटा मोटर्सले एसयूभी नेक्सन फेसलिफ्ट सेप्टेम्वरमा लन्च गर्ने भएको छ । टाटाको सर्वाधिक लोकप्रिय एसयूभी नेक्सनको एक्सटेरियर र इन्टेरियरको तस्विर सार्वजनिक गरेको छ ।
यसको साथै बजारमा उपलब्ध हुने कुल ट्रिम पनि कम्पनीले सार्वजनिक गरेको हो । टाटा मोटर्सका अनुसार सो एसयूभी अब कुल ११ ट्रिममा आउने भएको हो ।
हाल कारोवार हुँदै आएको नेक्सन एक्स, एक्सई, एक्सएम, एक्सएम प्लस, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी कुल ६ ट्रिममा उपलब्ध रहँदै आएकोमा नयाँ मोडलमा कम्पनीले नयाँ नामको ट्रिम दिन लागेको छ ।
नेक्सन फेसलिफ्ट अब स्मार्ट, स्मार्ट प्लस, स्मार्ट प्लस(एस), प्योर, प्योर(एस), क्रियटिभ, क्रियटिभ प्लस, क्रियटिभ प्लस(एस), फियरलेस, फियरलेस(एस) र फियरलेस प्लस(एस) ट्रिममा आउन लागेको हो ।
रेगुलर मोडलसहित यसको ४ स्पेसल एडिसन बजारमा उपलब्ध छ । कम्पनीले यसको डार्क, काजिराङ्गा, जेट र रेड डार्क नाममा स्पेसल एडिसन बिक्री गर्दै आएकोमा फेसलिफ्ट पनि यी एडिसनमा उपलब्ध हुनसक्ने संभावना देखिएको छ ।
नेक्सन फेसलिफ्टमा मुख्यतः ३६० डिग्री क्यामेरा, नयाँ एलइडी डिआरएल र फ्रन्ट पार्किङ सेन्सल लगायत फिचर थप हुने कम्पनीले जनाएको छ । नेक्सन फेसलिफ्टमा ह्यारियर र सफारीमा जस्तै दुईवटा १०.२५ इन्चको टचस्क्रिन र डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर उपलब्ध हुनेछन् ।
उक्त सवारीमा नयाँ टु स्पोक स्टेरिङ ह्विल, सवै भेरिएन्टमा न्यूनतम ६ वटा एयरब्याग, एलइडी डिआरएलसहितको एलइडी हेडल्याम्प र मल्टि ड्राइभ मोड लगायत फिचर रहेको छ ।