एमजी मोटर्सको नयाँ सिरिज बजारमा आउँदै

काठमाडौं । एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ इलेक्ट्रिक कार बिक्री शुरु गर्ने भएको छ । सो ब्रान्डको चर्चित क्रसओभर एमजी–४ नेपाल आउने क्रममा रहेको हो । एमजी–४, ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा नेपाल आउन लागेको हो ।

एमजीले ल्याउने तयारी गरेको एमजी–४, ५१ किलोवाटको ४८ लाख र ६४ किलोवाटको ५६ लाख रुपैयाँ निर्धारण हुनसक्ने कम्पनीले जनाएको छ । यी कारको रेन्ज क्रमशः ३५० र ४५२ किलोमिटर दावी गरिएको छ । दुवै भेरिएन्टमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । २५० किलोवाट सम्मको डीसी चार्जर सपोर्ट गर्नसक्ने यसको टर्क २५० एनएम रहेको छ ।

सो इलेक्ट्रिक क्रसओभरको बाहिरी लुक्स निकै नै आकर्षक र स्पोर्टी रहेको छ । यसमा दिइएको डुअल–विंग स्पोइलर र फुल–वाइड एलइडी टेल ल्याम्पको साथै एङ्गुलर हेड ल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपिङ बोनेटले कारको बाहिरी लुक्समा निखार दिएको छ ।

एमजी–४ को ड्यासवोर्ड स्लिक रहेको छ, जहाँ दुईवटा फ्लोटिङ स्क्रिन पाउन सकिन्छ । सो कारमा वायरलेस चार्जिङ प्याड, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सीट र एडिएसएस फिचर लगायत पाउन सकिन्छ ।

२०२२ को जुलाईमा ग्लोबल लन्च गरिएको एमजी–४ ठिक एक वर्षपछि नेपाल आउन लागेको हो । सो कारको सिधा प्रतिस्पर्धा टाटा नेक्सन र बीवाइडी एट्टो–३ को एड्भान्स भेरिएन्टसँग हुने देखिएको छ । पारमामाउन्टले हाल एमजी जेडएस ईभी बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स