फक्सवागन एसयूभी टाइगुन सार्वजनिक, पहिलो १०० ग्राहकलाई विशेष छुट प्रदान गरिने

काठमाडौं। फक्सवागनको टाइगुन एसयुभी नेपाल भत्रिएको छ । यो नयाँ मोडल फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सार्वजनिक गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले एसयुभीको उक्त मोडल सार्वजनिक गरे । नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचार्ज्ड इन्जिनबाट चल्ने कम्पनीले जनाएको छ । जसले ११४ हर्जपावर र १७८ एनएम टर्क उत्पादन गर्छ ।

नेपाली बजारमा यस प्रकारका कम्प्याक्ट एसयूभीहरुमध्ये टाइगुनको पावर र टर्क सबैभन्दा बढी रहेको दावी कम्पनीको छ । कम्पनीले तीन भेरियन्टका टाइगुन सार्वजनिक गरेको छ । फक्सवागन टाइगुनको शुरुआती भेरियन्ट कम्फर्टलाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ ।

तीनमध्ये बाँकी दुई भेरियन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ । उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट गाडीको नाम ‘टाइगुन’ रहन पुगेको बताइएको छ । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी टाइगुन डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्युबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको जनाएको छ ।

टाइगुन यो सेगमेन्टमा गेम चेन्जर एसयुभी हुने दाबी कम्पनीको छ । टिकाउ, वातावरणमैत्री र सुरक्षाको हिसाबले आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकहरुका लागि यो गाडी उपयुक्त हुने कम्पनीको विश्वास छ ।

४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहित फन-टु-ड्राइभ विशेषता फक्सवागनको यो गाडीमा रहने बताइएको छ । फक्सवागनले पहिलेदेखि नै उपलब्ध गराइरहेका योभन्दा ठूला गाडी टिगुआन र ट्वारेगमा प्रयोग गरिएको ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज टाइगुनमा प्रयोग गरिएको कम्पनीले जनाएको छ । सिटी, हाइवे वा अफरोड जस्तोसुकै अवस्थामा पनि बेस्ट ड्राइभिङ अनुभव चाहनेहरुका लागि टाइगुन लक्षित गरिएको जिकिर कम्पनीको छ ।

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ। अघिल्लो भागमा भएको मस्कुलर ग्रीललाई एलइडी डे टाइम रनिङ हेडलाइट (डीआरएल्स)सँग पूर्ण रुपमा एकीकृत गरिएको कम्पनीले जनाएको छ । उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि टाइगुन उपयुक्त हुने दावी कम्पनीको छ ।

कम्पनीका अनुसार गाडीको इन्टेरियर डिजाइन पनि मोडर्न र फ्रेस छ । ड्युअल टोन ड्यासबोर्डले कारलाई झनै प्रिमियम लुक्स् दिएको बताइएको छ ।

फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्ने दावी कम्पनीको छ । यसमा १० इन्च इन्फोटेन्मेन्ट प्रणाली, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलईडी टेललाइटलगायतका अत्याधुनिक फिचर गाडीमा रहेको बताइएको छ ।

‘फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ । टायर प्रेसर डिफ्लेसन वार्निङ, बक्स सेन्सरसहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्टस आदि यसमा भएका केही एक्टिभ सेफ्टी फिचर हुन्,’ पूजा इन्टरनेशनल नेपाल प्रालिका सीइओ विवेक बिजुक्छेले भने, ‘मल्टी-कोलिजन ब्रेक, मजबुद स्टिल स्ट्रक्चर बडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत अन्य धेरै प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।’

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने जनाएको छ । पहिलो वर्ष कम्पनीले नेपालमा करिब एक हजार वटा टाइगुन बिक्री गर्ने लक्ष्य राखेको छ ।

काठमाडौंमा भएका चार शोरुमबाहेक बिर्तामोड, विराटनगर, नारायणघाट, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, धनगढी र पोखरालगायतका विभिन्न स्थानमा पूजा इन्टरनेसनलको डिलरसिप र सर्भिस नेटवर्क रहेको कम्पनीले जनाएको छ।

टाइगुन मेला गरिने

यो दशैं पर्वलाई लक्ष्यित गरी पूजा इन्टरनेसनलले वान दरबार महल दरवारमार्गमा ‘फक्सफेस्ट सरप्राइज’ अन्तर्गत आगामी तिहार सम्मका लागि टाइगुन मेला लगाउने भएको छ । उक्त अवसरमा टाइगुन टेस्ट ड्राइभ गर्न सकिने र बीएमडब्ल्यु जी३१०जीएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र सामसुङ जेडफ्लिप्स३ स्मार्टफोन जित्न सकिने छ ।

गाडी किन्न इच्छुक ग्राहकले टेस्ट ड्राइभ स्थलबाटै बुकिङ, फाइनान्सिङ, इन्स्योरेन्स र एक्सचेन्ज सुविधा प्राप्त गर्न सक्नेछन् । यस बाहेक बालबालिका र परिवारसँग रमाउनका लागि विभिन्न आकर्षक खेलहरुको आयोजना समेत गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स