सिप्रदीले नेक्सनको इभीको लङ रेन्ज सार्वजनिक गर्दै, फुल चार्जमा लगभग ४५३ किलोमिटर यात्रा गर्न सकिने

काठमाडौं । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन इभीको लङ रेन्ज नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । सिप्रदीले उक्त इभी मंगलबार सार्वजनिक गर्ने भएको हो । टाटाले नेक्सन इभी म्याक्स मोडल दुई भेरियन्टमा ल्याएको छ । यसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्ट छन् । जुन गाडीमा फास्ट चार्जिङको व्यवस्था गर्न सकिन्छ ।

कम्पनीले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमा नेक्सनको लङ रेन्ज आगामी दिनमा नेपाली बजारमा सार्वजनिक गर्ने उल्लेख गरेको हो । नेक्सन इभी नेपालमा धेरै बिक्री हुने विद्युतीय प्यासेन्जर एसयुभी हो । यसलाई पुरानो नेक्सन इभीको जस्तै जीपट्रोन टेक्नोलोजी प्लाटफर्ममा निर्माण गरेको टाटा मोटर्सले जनाएको छ ।

यो एसयुभीले फुल चार्जमा लगभग ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । जुन पहिले दाबी गरिएको भन्दा १६ किलोमिटर धेरै रेन्ज हो । पहिला कम्पनीले यसलाई ४३७ किलोमिटरको रेन्जमा ल्याएको थियो।

कम्पनीले दाबी गरेअनुसारको माइलेजले काठमाडौं–पोखरा बराबरको दुरी आउजाउ गर्न सकिनेछ । काठमाडौं–पोखराको दुरी सडकमार्गबाट करिब २०५ किलोमिटर हो। यसकारण टाटाको यो इभी विद्युतीय गाडीमै लामो दुरीको यात्रा गर्ने इच्छा राख्नेका लागि उपयुक्त सवारी बन्न सक्ने देखिन्छ ।

नयाँ टाटा नेक्सन इभी म्याक्सको मूल्य हालको नेक्सन इभीको भन्दा भारतमै भारु ३ लाखदेखि ४ लाख रुपैयाँसम्म बढी रहेको छ । हाल बजारमा उपलब्ध नेक्सन इभीको मूल्य भारतमा १४–१७ लाख भारु छ भने नेपालमा यसको मोल ४० लाखदेखि ४४ लाख रुपैयाँसम्म छ ।

तर, नयाँ नेक्सन इभी म्याक्सको मूल्य भारतमै १६.४९ लाख भारुदेखि प्रारम्भ हुनेछ भने स्ट्यान्डर्डको मूल्य १८.९९ लाख भारु रहेको छ। यसकारणमा नेपालमा आउँदा ४५–५२ लाख रुपैयाँको आसपास पर्नेसक्ने देखिन्छ । १०० किलोवाट मोटर क्षमतामा आउने भएकाले यसको मूल्य ४५ लाख रुपैयाँ कायम हुने अनुमान गरिएको छ ।

कम्पनीले मंगलबार राती साढे ७ बजे भर्चुअल रुपमा नेक्सन इभी म्याक्सको नेपालमा सार्वजनिक गर्न योजना बनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स