सवारीसाधनको महाकुम्भको मिति तोकियो, कोभिडले साथ दिए भौतिक उपस्थितिमा ‘नाडा अटो शो’ हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सवारीसाधनको महाकुम्भ ‘नाडा अटो शो’ को नयाँ मिति तोकेको छ । नाडाको केन्द्रीय कार्य समितिको शुक्रबार होटल सोल्टीमा भएको बैठकले आगामी माघ ७ गतेदेखि माघ १२ गतेसम्म नाडा अटो शो आयोजना गर्ने मिति तोकेको हो ।

यस अघि पनि नाडाले भदौ २६ गते अटो शो आयोजना गर्ने मिति तोकेको थियो । तर कोभिड-१९ को बढ्दो संक्रमणले गर्दा अटो शो स्थगित गरिएको थियो । कोभिड-१९ को संक्रमण घट्दो क्रममा रहेकाले अटो शोको नयाँ मिति तोकिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कोभिड-१९ को बढ्दो प्रकोपले गर्दा विगत २ वर्षदेखि नाडा अटो शो आयोजना हुन सकेको छैन । कोभिड-१९ को संक्रमण घट्दो क्रमसँगै अन्य आर्थिक गतिविधि क्रमस चलायमान हुन थालिसकेकाले अटो शो आयोजना गर्न खोजिएको नाडाका सचिव अनुप बरालले बताए ।

‘नाडा अटो शो आयोजना नहुँदा धेरै व्यवसायीले आफ्नो सवारीसाधन सार्वजनिक गर्न पाएका छैनन् । उपभोक्ताहरु पनि एउटै छाना मुनी विभिन्न ब्राण्डको सवारीसाधनको बारेमा बुझ्ने अवसरबाट बञ्चित हुनु भएको छ,’ सचिव बरालले भने, ‘अटो शो आयोजना नहुँदा उपभोक्ता तथा व्यवसायी दुवै मर्कामा पर्नु भएको छ । उपभोक्तालाई एउटै छाना मुनी सवारीसाधनमा भित्रिएको नयाँ प्रविधिको बारेमा जानकारी दिन अटो शोको आवश्यकता महशुस भएको छ ।’

नाडाद्वारा सञ्चालित कार्याक्रमहरु मध्ये अटो शो ‘सिक्नेचर’ कार्यक्रम हो ।

कोभिड-१९ नियन्त्रणका लागि सरकारले लागु गरेको स्वास्थ्यको सम्पूर्ण मापदण्ड पालनागरी भौतिक उपस्थितिमै अटो शो आयोजना गर्न खोजिएको उनले बताए ।

कोभिड-१९ को संक्रमण दर घट्दो क्रमम र जिल्ला प्रशासन कार्यालयले अनुमति दिए तोकिएकै दिन अटो शो आयोजना गर्न नाडा तयार रहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स