६१ करोडमा साझाले ४० वटा विद्युती बस किन्ने, असोज २५ गतेभित्र खरिद सम्झौता हुने

काठमाडौं । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनी कम्पनी छनोट गरेको छ । साझा यातायातले भ्याट सहित करिब ६१ करोड रुपैयाँमा ४० वटा विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनी सीएचटीसी किनविन अटोमोबाइल कर्पोरेशनलाई छनोट गरेको साझाका सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए ।

साथै चिनियाँ कम्पनीले उक्त रकम भित्र विद्युतीय बस चार्ज गर्नका लागि ९० किलोवाट क्षमताको २० वटा चार्जर पनि उपलब्ध गराउँने छ । उक्त चार्जरमा २ वटा सकेज रहने छ । जसको मद्दतले एक पटकमा दुई वटा बस चार्ज गर्न सकिन्छ ।

साझाले विद्युतीय बस खरिद गर्न गत २०७८ चैत १३ गते ग्लोबल बोलपत्र आह्वान गरेको थियो । साझालाई विद्युती बस बिक्री गर्न ९ वटा कम्पनीले प्रस्ताव बुझाएका थिए ।

साझा यातायातले तोकेको मापदण्ड भित्र अनुमानित लागतभन्दा करिब २७ प्रतिशत सस्तो सीएचटीसी किनविन विद्युतीय बस उपलब्ध गराउने प्रस्ताव गरेको थियो । सस्तो र मापदण्ड भित्रकै विद्युतीय बस उपलब्ध गराउने भएकाले सीएचटीसी किनबिन छनोट गरिएको सदस्य तुलाधरले बताए ।

विद्युतीय बस खरिद गर्ने कम्पनी छनोट गरिए पनि खरिद सम्झौता भने भइसकेको छ । विद्युतीय बस खरिद सम्झौताका लागि साझाले चिनियाँ कम्पनीलाई पत्रचार गरिसकेको छ । असोज २५ गतेभित्र खरिद सम्झौता हुने साझाले विश्वास लिएको छ ।

साझाले ४० वटै एकै पटक खरिद गर्ने छैन । पहिलो चरणमा ३ वटा बस मात्र खरिद गरिनेछ । उक्त बसको पर्फमेन्सको आधारमा खरिद सम्झौता अनुसार थप बस भित्र्याइने तुलाधरले बताए ।

‘खरिद सम्झौता भएको पहिलो ४ महिना भित्रमा ३ वटा बस आउँछन्,’ तुलाधरले भने, ‘ती बसको नेपाली सडकमा पर्फमेन्स हेरिन्छ ।’सबै कुरा ठिक भए बाँकी बस भित्र्याउने प्रक्रिया अघि बढाइने छ ।

साझाले खरिद गर्न लागेको विद्युतीय बसको ब्याट्रीमा ८ वर्षको वारेन्टी छ । मोटर सहित अन्य पाटपुर्जामा ५ वर्ष र विद्युतीय उपकरणमा २ वर्षको वारेन्टी छ ।

‘वारेन्टी अवधिमा गाडीको टायर बिक्रे बिक्रेता कम्पनीले नै फेरिदिन्छ,’ तुलाधरले भने, ‘बसमा कुनै प्राविधिक समस्या देखिए ५ वर्षसम्म कम्पनीकै खर्चमा मर्मत हुन्छ ।’

चिनियाँ कम्पनीले नेपाली एजेन्ट मार्फत साझाको विद्युतीय बस मर्मत सम्भार गर्नेछ । सीएचटीसीका विद्युतीय बस नेपालमा दीगो प्रालिले बिक्री वितरण गर्दै आइरहेको छ ।

यस्तो हुन्छ विद्युतीय बस
साझा यातायातले खरिद गर्न लागेको बस साढे ८ मिटर लम्बाईको छ । अपांगमैत्री लोफ्लोर बस २६ सिट क्षमताको छ । बसमा १६१ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । यो बस फुल चार्जमा २०० किलोमिटरभन्दा बढीको रेञ्ज (माइलेज) कम्पनीको दावी छ ।

बसको ग्राउण्ड क्लियरेन्स १६० मिलिमिटर रहेको छ । यो बस समथर र चिल्लो सडकमा चलाउने साझाको योजना छ । बस नेपाल भित्रि नसकेकाले कुन रुटमा चलाउने भन्ने टुंगो लागेको छैन । सदस्य तुलाधारका अनुसार वातावरणमैत्री बस भएकाले सकभर भित्री सडकमा चलाउनेगरी यातायात व्यवस्था विभागसँग रुट परमिट माग गरिने बताए ।

विद्युतीय बसमा एसी भने उपलब्ध हुने छैन । एसीले विद्युली धेरै खपत गर्ने हुँदा गाडाको रेञ्ज कम हुने सम्भावना रहन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स