काठमाडौं । दशैंतिहार नजिकैसँगै यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यावसायीहरु टिकट बुकिङ खुल्ला गर्ने तयारीमा जुटेका छन् । आज यातायात व्यवस्था विभागमा ट्राफिक प्रहरी, विभागका अधिकारी र यातायात व्यावसायीबीच छलफल भएको छ ।
साथै, टिकट बुकिङको विषयमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको बैठक पनि बसेको महासचिव सरोज सिटौलाले जानकारी दिए ।
दशैं नजिकैसँगै काठमाडौं उपत्यका छोडेर आफ्नो थतथलो जान चहाने यात्रुलाई सहज र सुरक्षी यात्रको वातावरण निर्माण गर्न महासंघ लागिपरेको सिटौला बताउँछन् ।
‘बर्षातका कारण अधिकांश राजमार्गमा खाल्टा खुल्ली परेका छन् । केही स्थानमा पहिरोका कारण सवारी एकतर्फी मात्र सञ्चालन भइरहेको छ,’ सिटौलाले भने, ‘यस्तो अवस्थामा सवारीसाधन तोकिएको स्थानमा निश्चित अवधिमा आइपुग्न सक्दैनन् ।’
अहिले नै हतार गरेर टिकट बुकिङको मिती तोक्नु भनेको यात्रुलाई सास्ती दिनु बराबर नै भएको उनी बताउँछन् । सडकको अवस्था सुधार गर्नका लागि भोलि (बिहीबार) सडक विभागको अधिकारीहरुसँग बैठक बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।