सर्वोच्चद्वारा एनजीएमसँगको सम्झौता भंग गर्ने हिरो मोटोकर्पको पत्र कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरु बिक्री गर्दै आएको ज्योति समूहअन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)सँगको सम्झौता एक पक्षीयरुपमा नतोड्न आदेश दिएको छ । आइतबार ज्योति समूहको रिट निवेदनमा सर्वोच्चले हिरो मोटोकर्पको पत्र कार्यान्वयन नगर्न आदेश दिएको हो ।

इण्डियाको हिरो मोटोकर्पले नेपाली उद्योगीलाई एसेम्ब्लिङ प्लान्ट राख्न दिएको सुविधाको अधिकांश हिस्सा आफूहरुलाई चाहिने शर्त राख्दै ज्योति समूहसँग बार्गेनिङ गरेको र एनजीएम त्यसका लागि तयार नभएपछि उसले एकपक्षीयरुपमा आधिकारिक बिक्रेताको सम्झौता तोडेको पत्र पठाएको थियो । उक्त पत्रप्रति विमति जनाउँदै ज्योति समूह अन्तरिम आदेशका लागि सर्वोच्च गएको थियो ।

हिरो मोटोकर्पले अर्बौं रुपियाँको सामान एनजीएम ट्रेडिङलाई बिक्री गरी रकम समेत लिई स्टकमा रहेको उक्त सामान बिक्री गर्न नपाउँदै सम्झौता नवीकरण नगर्ने जानकारी गराउँदा एनजीएमलाई अपुरणीय क्षति हुने देखिएकाले हिरो मोटोकर्पले एनजीएमसँग गरेको व्यवसायिक कार्य गर्न अवरोध नगर्ने र सम्झौता भंग गर्नेगरी भएको पत्राचार कार्यान्वयन नगर्नु भनी हिरो मोटोकर्पको नाममा सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

यसले ज्योति समूहलाई तत्कालका लागि केही राहत दिएको छ । नेपालमै हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरु बनाउन एसेम्ब्लिङ प्लान्ट निर्माणका लागि ठूला लगानी गरिसकेपछि हिरो मोटोकर्पका स्थानीय व्यवस्थापकहरुले बदनियतपूर्ण तरिकाले विवाद सुरु गर्ने, मोटरसाइकल एसेम्ब्ल गर्न ल्याइने पार्टपुर्जाहरुको मूल्यमा १७ देखि १८ प्रतिशत बढाउन पाउनुपर्ने जस्ता शर्त राखेपछि ज्योति समूहले अस्वीकार गरेको थियो । सोही विवादपछि यसले एनजीएमलाई सम्झौता भंग भएको भन्दै एकपक्षीयरुपमा पत्र पठाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स