काठमाडौं । सरकारले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि अटोमोबाइल्स व्यवसायीहरुको आन्दोलन जारी छ । आन्दोलनको क्रममा आज (बिहिबार) व्यवसायीहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । आजको धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी थिए ।
गत वैशाखदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाउँदै आएको प्रतिबन्ध मंगलबारको मन्त्रिपरिषद्को बैठकले खुलाउने निर्णय गरेको छ । सरकारको सो निर्णयसँगै सवारीसाधन र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातको बाटो खुलेको छ । सवारीसाधन आयात खुलेपनि अझैं व्यवसाय गर्ने वातावरण निर्माण नभएको भन्दै नाडाले आन्दोलन जारी राखेको हो ।
यस्तो छन् नाडाको १० बुँदै माग :
१.विगत ८ महिना देखि नीजि प्रयोजनका कार, जीप भ्यान तथा १५० सि।सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध तत्काल खोल्नु पर्ने ।
२. नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनु पर्ने ।
३. सतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनु पर्ने ।
४. नेपालको वित्तिय निकायहरुले यही २०७९ साल कार्तिक १ गते देखि लागु हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण, व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालको व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नु पर्ने ।
५. अटोलोन र हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने ।
६. बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पूनरावलोकन गर्नु पर्ने ।
७. बैकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर वापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनु पर्ने ।
८. त्यस्तै बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन भ्यालु टु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गर्नु पर्ने ।
९. पूर्नकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनु पर्ने ।
१०.भिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूर्नतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने ।
आन्दोलनका कार्यक्रमहरु :
१. नाडाद्वारा तय गरिएका नाराहरु सबै व्यावसायीले फेसबुक, इन्स्टाग्राम र टुइटरमा प्रोफाइल पिक्चर बनाउने ।
२. हामिले तय गरेको नाराहरू सबै व्यावसायीले चढ्ने गाडीमा आजै बाट अगाडी पछाडी टांसेर हिंड्ने ।
३. नाराहरूलाई व्यानर बनाएर आफ्नो सोरुममा टास्ने ।
४. विरोध कार्यक्रममा सहभागि हुन नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संगठन र जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई समेत औपचारिक पत्रमार्फत सहयोग माग्ने ।
५. २०७९/०८/२२ गते विहिवारका दिन सम्पूर्ण व्यवसायी साथीहरू कालो पहिरन लगाइ, प्लेकार्ड बोकी बिहानको ११ बजे देखि २ बजेसम्म काठमाण्डौको माइतिघर मण्डेलामा धर्ना दिने र साथै सातै प्रदेशमा एकै पटक धर्ना कार्यक्रममा बस्ने ।
६. सोही दिन हाम्रा औपचारिक नाराहरू काठमाडौं लगायत हाम्रा सातै प्रदेशमा रहेका संगठन मार्फत सार्वजनिक गर्ने र नेपाल भरका सम्पूर्ण सदस्यज्यूहरुलाई एकै पटक परिचालन गर्ने।
७. मइसिर २२ गतेसम्म पनि मागको सम्बोधन नभएमा पहिलो चरणको कार्यक्रम २२ गते समापन गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रम पुनः सार्वजनिक गर्ने ।