उद्योगको विरोध गर्नु भनेको भावी पिढीको भविष्य अन्धकार बनाउँनु होः नाडा अध्यक्ष कृष्णप्रसाद दुलाल

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले देशभरीका अटोमोवाइल, स्पेयरपार्टस्, टायर, लुब्रिकेन्ट, सवारी आयातकर्ता, एसेम्बल गर्ने उद्योगी, व्यवसायीको हकहित संरक्षणका लागि काम गर्छ । नाडाले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि काम गरिरहेको छ । संसारको इतिहास हेर्ने हो भने एसेम्बलिङबाटै उद्योगहरु खुलेका छन् ।

एसेम्बलिङ शुरु भए पछि क्रमिक रुपमा आवश्यक पार्टपुर्जा स्वदेशमै उत्पादन हुन थाल्छन् । यस्तै विचार र सोचका साथ नेपालमा एसेम्बलिङ उद्योगहरु सञ्चालन भइरहेका छन् र हुने क्रममा छन् । तर नेपालमा सोचे जस्तो उद्योग सञ्चालन गर्न भने गाह्रो छ । पहिला अस्थिर राजनीतिले उद्योग स्थापना गर्न अबरोध सिर्जना हुन्थ्यो ।

सरकारले ल्याएको नीति अनुसार उद्योग स्थापना गर्न सकिन्छ भनेर योजना निर्माण गरिन्छ । तर त्यो योजना कार्यान्वयनमा जान नपाउँदै नीति परिवर्तन भइसकेको हुन्छ । यसले उद्योग खोल्ने ऊर्जालाई नै ध्वस्त बनाउँछ । बारम्बार बजेटमा करका दर परिवर्तन हुँदा पनि उद्योगीलाई समस्या थियो ।

पछिल्लो ३ वर्ष स्थिर सरकार निर्माण भएको थियो । सरकारले उद्योग स्थापना गर्न चहानेलाई प्रोत्साहन गर्ने नीति ल्याउँछ कि भन्ने महशुस भएको थियो । स्थिर सरकार हुँदा पनि नीतिमा एकरुपता पाउँन सकिएन । व्यवसायीहरुमा उद्योग सञ्चालन गर्ने इच्छा शक्तिका बाबजुत अस्थिर नीतिका कारण तत्काल लगानी गर्न सकिने अवस्था छैन ।

उद्योग स्थापनका लागि ठूलो पुँजीको आवश्यक पर्छ । उद्योग खोल्ने वातावरण अहिले पनि बनिसेको छैन । लगानीको सुनिश्चिता हुने वातावरण नबनेकाले उद्योग खुल्न नसकेका हुन् । उद्यमी बन्ने धेरैको इच्छा हुन्छ । त्यसका लागि राज्यले नीतिगत व्यवस्था गरेर उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ ।

उद्योग स्थापनका विषयमा नाडाले लगानी बोर्डसँग पनि छलफल गरेको छ । विदेशी कम्पनीले पनि नेपालमा एसेम्बलिङ उद्योग खोल्ने इच्छा जाहेर गरेको छ । नेपालका पनि धेरै सवारी आयातकर्ता कम्पनीहरुले पनि एसेम्बलिङ उद्योग दर्ता गरेर बसेका छन् । उनीहरु पनि नेपालमा एसेम्बलिङ गर्न तयार छन् । सरकारको नीति स्थिर हुन्छ कि हुँदैन भन्ने दुविधाका कारण उद्योगीहरु अन्योलमा छन् । यसका लागि सरकारले कम्तीमा पनि १० वर्षसम्मका लागि स्थिर नीति ल्याउन सक्नुपर्छ । लगानीको सुनिश्चिता देखेपछि दर्ता भएका एसेम्बलिङ उद्योग सञ्चालनमा आउने थिए ।

आर्थिक नीति प्रत्येक बजेटमा परिवर्तन हुन्छ । आर्थिक नीति पनि कसरी उद्योगीलाई पेल्न सकिन्छ भन्ने सोचका साथ ल्याइन्छ । नीति निर्माता उद्योग सञ्चालन हुन सक्ने नीति कसरी तयार पार्छन् भन्ने कुरा आजसम्म बुझ्न सकिएको छैन । पछिल्लो समय सरकारी नेतृत्वको धेरै भाषण तथा सभामा उद्योगबाटै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउँछन् ।

तर फेरी नीति बनाउँदा भन्ने चुक्ने गरेका छन् । बोलाई र व्यवहारमा उद्योग प्रतिको धारणा विल्कुलै फरक छ । उद्योग दर्ता गर्ने प्रक्रिया पनि झन्झटिलो छ । राजनीतिक पार्टी दर्ता गर्न सजिलो छ तर उद्योग दर्ता गर्न गाह्रो छ । उद्योग दर्ता गर्नमै वर्ष दिन बित्छ । त्यस क्रममा सामना गर्नुपर्ने मानसिक तथा व्यवहारिक कठिनाइ वर्णन गर्नै सकिन्न ।

अटोमोवाइल क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मुलुकको राजस्वको २५ प्रतिशत योगदान गरेको छ । अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने व्यवसाय संरक्षण गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको पाइदैन ।

नेपालमा अटोमोवाइल उद्योग खुले स्वदेशमै रोजगारीको अवसर सिर्जना हुन्छ भनेर नाडाले प्रयास गरिरहेको छ । नेपालमा उद्योग सञ्चालन गर्न व्यवहारिक तथा आर्थिक रुपले कठिन नै छ । उद्योगमा प्रयोग हुने धेरै कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने हुन्छ । आर्थिक नीतिमा एउटा अक्षर परिवर्तन भयो भने पनि उद्योग बन्द हुने अवस्था आउँन सक्छ । भन्सार महशुल र राजस्व शुल्कको आधारमा नेपालमा उद्योगको भविष्य निर्धारण हुने गरेको छ ।

हाम्रो प्रतिस्पर्धा पनि जनसंख्याका हिसाबले ठूलो र तीव्र गतिमा आर्थिक विकास गरिरहेका चीन र भारतसँग छ । अधिक मात्रामा उत्पादन भएको वस्तु र सीमित मात्रामा उत्पादन हुने वस्तुको मूल्यमा फरक पर्छ । उद्योगीलाई सरकारले नै बचाउँनुपर्छ । सरकारको संरक्षणकारी भूमिकामा मात्रै उद्योग टिक्न सक्छ ।

साथै हाम्रो समाजमा पनि उद्योगी व्यवसायीलाई हेर्ने नजर सकारात्मक छैन । त्यो बानी परिवर्तन हुन आवश्यक छ । राज्यमा जनता, व्यवसायी, उद्योगी, राजनीतिकर्मी, प्रशासक, कर्मचारी सबै आ-आफ्नो भुमिका हुन्छन् ।

व्यवसाय भएन भने कर उठ्दैन, उपभोक्ताले खरिद नगरे व्यवसाय हुँदैन । यो साइकल सबैले बुझ्नुपर्छ । व्यवसायी भन्ने वित्तिकै नाफा खोर सोच्ने मानसिकता व्याप्त छ । उच्च करका कारण नेपालमा सवारी महँगो भएको हो । करका कारण सवारीको मूल्य बढी भएको भन्ने उपभोक्तालाई बुझाउन सकिएको छैन । अरु क्षेत्रमा लाग्ने कर र अटोमोवाइलको करको दर भिन्न छ । सवारीसाधनमा ३ सय प्रतिशतसम्म कर लाग्छ । राज्य व्यवस्था चलाउन आवश्यक स्रोतको व्यवस्थापन गर्न अटोमोवाइलमा धेरै कर लगाईदा सवारीसाधनको मूल्य महँगो हुन्छ भनी बुझ्न आवश्यक छ ।

सस्तोमा सामान पाउँने उपभोक्ताको अधिकार हो । तर करका कारण त्यो हकबाट बञ्चित छन् । छिमेकी मुलुकमा सामान्य आम्दानी हुने पनि सवारीसाधन खरिद गर्न सक्छन् । तर यहाँ उच्च आय हुनेलाई पनि हम्मेहम्मे पर्ने गर्छ । यसका बावजुत पनि उपभोक्ताले महँगो मूल्य तिरेर भए पनि खरिद गरेका छन् ।

राजनीतिज्ञ र कर्मचारीहरुले उद्योग कलकारखाना स्थापनका लागि प्रोत्साहन हुने गतिविधि गर्नुपर्छ । व्यवसायीहरुलाई दुःख दिने काम गर्नु भएन । छिटो र छरितो सेवा दिनुपर्छ । राज्यको नीति अनुसार व्यवसायीले पनि आफ्नो दायित्व बहन गर्नुपर्छ । व्यवसायबाट आम्दानी भए कर तिर्न गाह्रो मान्नु हुँदैन । कसैले पनि पैसा कमाउनका लागि भनेर उद्योगधन्दा शुरु गरेका हुँदैन । आफ्नो जिविका निर्वाह गर्दै जाँदा उद्योगको क्षमता विस्तार हुने क्रममा आम्दानी बढ्दै जाने हो ।

उद्योग खोल्नका लागि सबैभन्दा ठूलो समस्याको रुपमा पूर्वाधार र जग्गाको अभाव छ । औद्योगिक क्षेत्रमा जग्गा महँगो छ । बाहिर सुविधा छैन । नयाँ औद्योगिक क्षेत्रमा बाटो, पानी, बिजुली, भण्डार गृह लगायतको प्रयाप्त सुविधा छैन । उद्योग खोल्न मात्र भनिन्छ । सञ्चालनमा आएका उद्योगलाई कसरी दिगो बनाउनुपर्छ भन्ने तर्फ कसैको ध्यान जाँदैन ।

ऋण धन गरेर कसैले उद्योग स्थापना गर्यो भने त्यसलाई कसरी डुवाउन सकिन्छ भनेर लाग्ने जमात नै धेरै हुन्छन् । हाम्रो यस्तै व्यवहार र प्रवित्तिका कारण उद्योग कलकारखाना आवश्यकता अनुसार सञ्चालनमा आउन नसकेको हो । उद्योगको अहित गरेर राज्य समृद्धि हुन सक्दैन । उद्योगलाई संरक्षण गर्न सकियो भने मात्र हाम्रा आगामी पिँढीले सुख पाउँछन् । यदि उद्योगको विषयमा कसैले गलत कुरा बोल्छ वा लेख्छ भने त्यसले आगामी पिँढीको भविष्य अन्धकार बनाउन खोजेको भन्ने बुझ्नुपर्छ ।

हाम्रो देश रेमिट्यान्सबाट चलेको छ । रेमिट्यान्स मार्फत भित्रिएको रकम पनि आयातित वस्तुको खरिदका निम्ति बाहिरिने गरेको छ । भोलिका दिनमा हाम्रा दाजुभाई तथा दिदीबहिनी रोजगारीका लागि जाने देशमा आर्थिक संकट निम्तिएर कामदार कटौती भयो भने हाम्रो अर्थ व्यवस्था कसरी चल्छ ।

भोलि आउन सक्ने सम्भावित संकटबाट बच्न पनि उद्योग स्थापना र सञ्चालन गर्ने सहज वातावरण बनाउँदै राज्यले नीतिगत रुपमा प्रोत्साहन गर्नुपर्छ ।

अध्यक्ष दुलालसँगको कुराकानीको सम्पादित अंश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स