ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ १७ गतेदेखि खुलाउने तयारी, उपत्यकाका ४ लाइसेन्स कार्यालयले अनुमतिका लागि विभागमा पत्र पठाए

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा भदौ १७ गतेदेखि खुलाउने तयारी शुरु भएको छ । काठमाडौं उपत्यका ४ यातायात कार्यालयहरु (यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना–यातायात व्यवस्था कार्यालय जगाती-यातायात व्यवस्था कार्यालय चाबहिल-यातायात व्यवस्था कार्यालय ठूलो भर्र्याङ) ले ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ १७ गतेदेखि खुलाउने तयारी गरेका हुन् ।

चार यातायात कार्यालयका प्रमुखहरुको भदौ ४ गते बसेको बैठकले लाइसेन्स परीक्षा खुलाउने निर्णय गरेको यातायात व्यवस्था कार्यालय ठूलो भर्र्याङका सूचना अधिकारी उपेन्द्र शाहले हाम्रोअर्थसँग बताए ।

‘ड्राइभिङ लाइसेन्सको परीक्षा सञ्चालन गर्न उपत्यकाका ४ यातायात कार्यालय तयारी अवस्थामा छन् । परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागको अनुमतिको आवश्यक पर्छ । यसका लागि विभागलाई पत्र पठाइसकेका छौं ।’

विभागबाट अनुमति प्राप्त हुने वित्तिकै ड्राइभिङ लाइसेन्सको परीक्षा सञ्चालनमा आउने शाहले जानकारी दिए ।
उपत्यकाका यातायात कार्यालयहरुले भदौ ४ गते नै इमेलमार्फत् विभागलाई पत्र पठाएको हो ।

सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन स्थगित भइरहेको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै असार ८ गतेदेखि यातायात व्यवस्था कार्यालयहरुले सेवा शुरु गरिसकेका छन् । तर ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन भने खुलाएका छैनन् ।

विभागले दिएको जानकारी अनुसार ड्राइभिङ लाइसेन्सको आवेदन बन्द हुन अघि करिब ४ लाखभन्दा धेरै सेवाग्राहीले लाइसेन्स परीक्षा (ट्रायल) का लागि आवेदन दिएका थिए ।

लाइसेन्स आवेदन तथा परीक्षा स्थगित भएको करिब ४ महिना पुरा हुन लाग्दा आवेदन तथा परीक्षा शुरु हुन लागेको हो ।
लाइसेन्सको ट्रायल परीक्षा स्थगन हुँदा धेरै सवारी चालक लाइसेन्स बिनै सवारी चलाउन बाध्य छन् । यसले गर्दा लाइसेन्सका लागि आवेदन दिएका र परीक्षाको मिती कुरेर बसेका समस्या परेका छन् ।

विभागले ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गर्दै सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ ल्याएको छ । नयाँ कार्यविधि अनुसार मोबाइल एपको सहायतले ड्राइभिङ लाइसेन्सको ट्रयाल दिनेको निरीक्षण गरिनेछ ।

तर अहिले ट्रायल परीक्षाका लागि आवेदन दिएका हकमा भने मोबाइल एपबाट निगरानी गर्न कठिन हुने यातायात कार्यालयका अधिकारीहरुको भनाई छ । अहिले ड्राइभिङ लाइसेन्सका लागि आवेदन बुझाइ सकेकाका हकमा पुरानै व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्नेगरी अनुमति प्रदान गर्न यातायात कार्यालयहरुले विभागसँग अनुरोध गरेका छन् ।

ट्रायल परीक्षामा निरीक्षकको भुमिकामा रहने यातायात कार्यालयका अधिकांश अधिकारीहरु ड्राइभिङ परीक्षा सञ्चालन गर्ने एप सर्पोट गर्ने स्मार्टफोन उपलब्ध नभएकाले तत्काललका लागि पुरानै व्यवस्थाबाट लाइसेन्स परीक्षा सञ्चालन गर्नेगरी अनुमति प्रदान गरिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

15 COMMENTS

  1. पहिला फर्म भरेको, तर भिजिट डेट आउनु भन्दा अघि नै लकडाउन भएर सेवा बन्द भयो ।
    अब फेरि ट्रायल खुल्दा नयाँ फर्म भर्नुपर्छ कि पहिलाकोले हुन्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स